१० करोड को खुशी दर्शकसंग केक काटेर साट्दै ‘ऊनको स्विटर’ टिम
प्रदर्शनको तेश्रो हप्तामा करिव १० करोड बराबरको ग्रस कलेक्सन गर्दै बर्ष २०८२ को पहिलो सुपरहिट चलचित्र बनेको ‘ऊनको स्विटर’ टिमले दर्शकसंग सफलताको खुशी साटेको छ। चलचित्र युनिटले मङ्गलवार साँझ काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमा हलमा चलचित्र हेरेका दर्शकहरूमाझ केक काटेर सेलिब्रेसन गरेको छ । उक्त समयमा चलचित्रका प्रमुख कलाकार विपिन कार्की, एलेक्स पारस, परीक्षा लिम्बु, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगर, गायक सुजन चापागाईँ, सङ्गीत निर्देशक कोविद बज्र, गीतकार हर्क साउद, छायाकार चिन्तन राजभण्डारी र निर्देशक नवीन चौहान लगायतको उपस्थिति थियो ।

केकमा चलचित्रका पोस्टरहरू र चर्चित गीतहरूको झल्को दिने चित्रहरू राखिएको थियो । निर्देशक नवीन चौहानका अनुसार यो केक काट्ने कार्यक्रम कुनै प्रचारात्मक गतिविधि होइन, तर “दर्शकसँग खुसी साट्ने र धन्यवाद व्यक्त गर्ने प्रयास” हो । उनका अनुसार, ‘ऊनको स्वीटर’ ले १० करोड क्लबमा प्रवेश गरेपछि गोलाप्रथामार्फत चलचित्र हल छानिएको थियो, जसमा एफक्युब हल परेकोले त्यहीँ कार्यक्रम आयोजना गरिएको हो ।

सो अवसरमा हल करिब हाउसफुल थियो र दर्शकहरूको उत्साह चुलिएको देखिन्थ्यो । युनिटले चलचित्र सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको थियो । निर्देशक चौहानले भने, “हामीले कसैलाई भौतिक रूपमा तिर्ने कुरा केही छैन, तर दर्शकलाई माया तिर्नुपर्ने हो । यही माया साट्न केक काट्यौँ ।”
यो चलचित्र हाल नेपालभरका १०० भन्दा बढी शो तथा अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप, मध्यपूर्वलगायतका देशहरूमा यसको प्रदर्शन भइरहेको छ । चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतका कलाकारको अभिनय छ ।