सेलिब्रेटीको एकै स्वर: ‘जन्ते बाख्रो’ पूर्ण मनोरन्जनको प्याकेज
शुक्रबारदेखि प्रदर्शन हुने चलचित्र ‘जन्ते बाख्रो’ को प्रिमियर हेरेपछि सेलिब्रेटीले मनोरञ्जनात्मक रहेको प्रतिक्रिया दिएका छन् । बुधवार बेलुकी सुन्धारा स्थित सिभिल मलमा रहेको क्युएफएक्समा आयोजना गरिएको प्रिमियरमा चलचित्र हेरेपछि अभिनेत्री वर्षा राउतले धेरैपछि रमाइलो कथालाई पर्दामा हेर्न पाएको प्रतिक्रिया दिईन् ।

उनले भनिन्,’म धेरैपछि हल भित्र निकै हाँसेकी छु । आशिफ दाई (आशिफ शाह) लाई पर्दामा देख्न पाउँदा निकै खुसी लाग्यो । उहाँ यसअगाडिका चलचित्र भन्दा निकै भिन्न तरिकाले प्रस्तुत हुनुभएको छ ।’
अभिनेता संजोग कोइरालाले पनि नयाँ पुस्ताका लागि ‘जन्ते बाख्रो’ परम्परासँगै बुझाउनेसंगै मनोरञ्जन दिने बताए । उनले अभिनेता शाहको ग्रामिण परिवेशसँगै चलचित्रमा कैद भएका सुन्दर दृश्यको तारिफ गरे । ‘तपाइँलाई ट्रेलरले आकर्षित गरेको छ भने चलचित्र हेर्न आउनुस्, इन्जोय गर्नुहुने छ । ग्रामिण सुन्दरता र सामाजिक सद्भावसँगै परम्परा जोडिएको चलचित्रले हामीले पूर्ण मनोरञ्जन दिन्छ’, संजोगले भने ।

अभिनेता तथा कमेडियन सन्दीप क्षेत्रीले चलचित्र निर्माण कै प्रक्रियामा आफूले पटकथाको बारेमा जानकारी पाएको बताए ।
‘ चलचित्र बन्दा मैले सुनेको पटकथा कस्तो होला भन्ने लागेको थियो । रमाइलो बनेको छ, म धेरै ठाउँ हाँसेको छु । चलचित्र हेरिरहदा हामी प्रिमियरमा सहभागी सबैलाई होल्ड गर्न सफल भएको छ ।’ उनले भने ।
निम्तालु चलचित्रकर्मी र सञ्चारकर्मीको ‘मनोरञ्जनको प्याकेज’ भन्ने प्रतिक्रिया पाएपछि अभिनेत्री गरिमा शर्माले आफूमा थप उत्साह बढेको बताइन । ‘प्रिमियरमा सबै चलचित्र बुझेका मान्छे आउनु भएको छ । यहाँ हामीले रमाइलो चलचित्र बनेको, होल्ड भएको, कहिँ कतै बोर नलागेको प्रतिकिया पाएका छौँ । यो हाम्रो टिमका लागि उत्साहजनक प्रतिक्रिया हो । हामीले पहिलो दर्शकलाई खुसी बनाउन सफल भएका छौँ, रेगुलर शोबाट पनि यस्तै प्रतिक्रिया पाउने अपेक्षा राखेकी छु’, उनले भनिन् ।

पहिलो पटक मुख्य भूमिकामा रहेकी गरिमाले उत्साह, डरको समिश्रण भएकाले अहिलेको भावनालाई शब्दमा व्यक्त गर्न नसकिने बताइन । ‘पहिलोपटक चलचित्रको कथा नै बोकेको पात्रलाई निर्वाह गरेकी छु । चलचित्र मैले निर्वाह गरेको सम्झना पात्रकै वरिपरी घुम्छ’, उनले भनिन् ।
अभिनेता सौगात मल्लले पनि सार्वजनिक प्रदर्शन पश्चात दर्शकबाट आउने प्रतिक्रियाको पर्खाइमा आफू रहेको प्रतिक्रिया दिए । ‘हामीले राम्रो काम गरेका छौँ भन्ने लागेको छ, प्रतिक्रिया त्यस्तै पाएको छु । अघिल्ला चलचित्र भन्दा यसमा म केही भिन्न देखिएँ जस्तो लागेको छ । दर्शकले रुचाउनु हुन्छ भन्नेमा आशावादी छु’, उनले भने ।
निर्माता सन्तोष गौतमले आफूले निर्माताको रुपमा चलचित्र निर्माणमा कुनै सम्झौता नगरेको बताए । उनले चलचित्र हेर्न एउटा परिवारका सबै सदस्य एकसाथ हलमा आउन मिल्ने गरी विषयवस्तु समेटेर चलचित्र तयार भएको बताए । जेठ २३ गते शुक्रबारदेखि प्रदर्शन हुने चलचित्रको अग्रिम टिकट बुकिङ र खरिद खुला भईसकेको छ । प्रदर्शकले प्रचार समाग्रीको आधारमा यसलाई राम्रो शो दिएका छन् ।
गाउँघरबाट हराउँदै गएको भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने परम्परा, ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई समेटेर तयार गरिएको ‘जन्ते बाख्रो’ मा परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गरेकाले नयाँ पुस्ताका लागि मनोरञ्जनसहित जानकारी प्राप्त हुनेमा निर्माण पक्ष विश्वस्त छ । सिमोश सुनुवारको निर्देशनमा मुईन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।