‘रियाल रिङ्गेट’ साउन १६ गते रिलिज हुने, बैदेशिक रोजगारीको पिडाको कथा
वैदेशिक रोजगारीका लागि बिदेसिने नेपाली युवाहरूको सपना, सङ्घर्ष र बिछोडको कथामा आधारित चलचित्र ‘रियाल रिङ्गेट’ साउन १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । रेबेल फिल्म्सले शुक्रवार एक पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति घोषणा गरेको हो । विभोर पोखरेलले निर्देशन गरेको यस चलचित्रका निर्माता गगनलाल प्रधान हुन् ।

चलचित्रको नाम नेपालीहरू मजदुरी गर्न जाने देशहरू कतार तथा साउदी अरेबियाको करेन्सी ‘रियाल’ र मलेसियाको करेन्सी ‘रिङ्गेट’ लाई मिसाएर बनाइएको छ । यसको पोस्टरमा भावनात्मक गहिराइ झल्काइएको छ । पोस्टरको ट्यागलाइनमा लेखिएको छ, “जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो ।” यो ट्यागलाइनले चलचित्रको समग्र मर्मलाई एक वाक्यमा समेटेको छ, जसले सपनाभित्र लुकेको दुःख, शोषण, परायापन र कहिलेकाहीँ मृत्युजस्ता कठोर यथार्थलाई चित्रण गर्छ । यो छोटो कविता कवि नाथन रायनले लेखेका हुन् ।
चलचित्रमा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, बिमला गिरीलगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको छ । यो चलचित्रको छायाङ्कन भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा गरिएको छ ।