पोष्टरमा यस्तो देखियो सौगात मल्लको ‘बलिदान’ लुक्स


बर्षकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको ‘बलिदान’ को पोष्टर सार्वजनिक भएको छ। अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स निर्माण टिमले सार्वजनिक गरेको हो। आगामी बडादसैँको फूलपातीको दिन प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रका पोस्टरमा अभिनेता मल्ल एक सशक्त र रहस्यमय अवतारमा देखिएका छन् ।

एक पोस्टरमा मल्लको एउटा आँखा कालो रङको छ । उनले लामो दाह्री, केश र गाढा रङको वस्त्र धारण गरेका छन् । उनको हातमा एउटा बलिरहेको राँको देखिन्छ । पृष्ठभूमिमा अन्य मानिसहरूको समूह र आगोको ज्वालाहरू पनि देख्न सकिन्छ, जसले चलचित्रको कथावस्तु द्वन्द्वात्मक प्रकृतिको रहेको जानकारी दिन्छ । अर्को पोस्टरमा अभिनेता मल्लले हातमा हतियार बोकेर लडाइको परिवेशमा देखिएका छन् । निर्देशक सन्तोष सेनका अनुसार, ‘बलिदान’मा अभिनेता मल्लको बिल्कुलै फरक अवतार रहेको छ, जसको लागि उनले अधिक मेहनत गरेका छन् ।

यसअघि ‘बलिदान’का प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर प्रि-टिजर सार्वजनिक गरिएको थियो, जहाँ समीर देशभक्तिपूर्ण भावनाले ओतप्रोत संवाद र दमदार एक्सन दृश्यसहित देखिएका थिए ।

आसुसेन फिल्म्स् प्रा.लि. को प्रस्तुति रहेको यस चलचित्रमा समीर भट्ट, सौगात मल्लसँगै अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायत कलाकारको अभिनय रहेको छ । पवन ब्राडफोर्ड बिस्ट निर्माता तथा प्रेम पुरी कार्यकारी निर्माता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्