‘जन्ते बाख्रो’ लाई दर्शकको राम्रो प्रतिक्रिया, कस्तो छ व्यापारको स्थिति?
जेठ २३ गतेबाट रिलिज भएको चलचित्र ‘जन्ते बाख्रो’ लाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ। शुक्रबार र शनिबार दर्शक भेट्न काठमान्डौका विभिन्न हलमा चलचित्रको टिम पुगेको थियो। अभिनेताद्धय सौगात मल्ल, आशिफ शाह र गरिमा शर्माको मुख्य भूमिका रहेको चलचित्रले दर्शकबाट ‘वडअफ माउथ’ राम्रो पाएको छ । दर्शकको राम्रो प्रतिक्रिया मिलेका कारण चलचित्रको व्यापार लम्बिनेमा निर्माण टिमको विश्वास रहेको छ ।

चलचित्र हेरेका अधिकांश दर्शकले अभिनेता सौगात मल्ल, आशिफ शाह र गरिमा शर्माको अभिनयको तारिफ गरेका थिए । यस्तै, निर्देशक सिमोस सुनुवारको निर्देशकिय पाटो समेत प्रशंसा गरेका हुन् । यत्ति राम्रो मौलिक तथा पुरानो संस्कृतीलाई समेटेर पूर्ण मनोरञ्जनात्मक नेपाली चलचित्र निर्माण गरेको भन्दै निर्माता सन्तोष गौतमको समेत तारिफ दर्शकले गरेका थिए ।
प्रदीप भारद्वाजको लेखनमा तयार भएको चलचित्रमा सौगात मल्ल, आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ ।
‘जन्ते बाख्रो’ ले गाउँघरको हराउँदै गएको जन्ती परम्परा, टपरी-दुनामा भोज खाने संस्कृति र ग्रामीण चालचलनलाई रमाइलो ढङ्गले प्रस्तुत गरेको छ । चलचित्रले केहि हलमा हाउसफुल व्यापार गर्न सफल भएको थियो। मुईन इन्टरटेनमेन्टद्वारा निर्मित चलचित्रको व्यापारिक आंकडा सार्वजनिक भएको छैन।