सौगात र बेनिशाको ‘सिटामोल’ साउनमा, तीन नयाँ पोस्टर सार्वजनिक
सौगात मल्ल र बेनिशा हमाल मुख्य भूमिकामा रहेको चलचित्र ‘सिटामोल’ का तीन नयाँ पोस्टर सार्वजनिक भएका छन् । सार्वजनिक तीन मध्ये पहिलो पोस्टरमा सौगात मल्ल, बेनिशा हमाल र बाल कलाकार करण नेपाली भावुक देखिएका छन् । दोस्रो पोस्टरमा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा र लोकेन्द्र लेखक आ- आफ्नो पात्र अनुसारको भूमिकामा प्रस्तुत छन् । तेस्रो पोस्टरमा मुख्य कलाकार सौगात मल्ललाई मात्रै स्थान दिइएको छ । उनी बैशाखीको साहाराले निराश भावमा कतै हिडिरहेको बुझ्न सकिन्छ ।

आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा राज बहादुर साने निर्देशित चलचित्रमा सौगात, बेनिशा, श्री कृष्ण, जानुका र करणसहित लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।
‘सिटामोल’ मार्फत् निर्माता तथा निर्देशकले बिम्बात्मक नेपाल र आम नेपालीको जनजीवन र परापुर्वकालदेखि नेपाली समाजमा जरा गाड्दै आएको कुसंस्कारलाई चिरफार गर्न खोजेको छन् ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्रको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको चलचित्रमा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् । साउन २३ गतेबाट चलचित्र रिलिज हुँदैछ।