‘महाराजधिराज’ को प्रमुख कलाकारको लाइनअप, को को छन् कलाकार ?


परिच्छेद सेनको निर्देशनमा तयार हुने नयाँ चलचित्र ‘महाराजधिराज’ को प्रमुख कलाकारको लाइनअप पुरा भएको छ। अभिनेत्री उषा रजकलाई चलचित्रमा अनुबन्ध गरेसंगै चलचित्रका कलाकारको प्रमुख लाइनअप पुरा भएको निर्माण टिमले जानकारी दिएको हो।

सोमबार निर्माण टिमले रजकलाई चलचित्रमा अनुबन्ध गरेको हो। यसअघि आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह र पुष्प खड्का, वर्षा राउत र वर्षा शिवाकोटी चलचित्रमा अनुबन्ध भैसकेका छन्। ‘महाराजधिराज’ले पुराना र नयाँ पुस्ताका कलाकारहरूलाई मिसाएर दर्शकलाई फरक स्वाद दिने तयारीमा छ। चलचित्रमा जय किशन बस्नेत, गजित विष्ट र आशा पौडेल पनि अनुबन्ध भइसकेका छन्।

प्रस्तुतकर्ता विराज बिष्टका अनुसार उषा रजकको अनुबन्धसँगै प्रमुख कलाकारहरूको लाइनअप अन्तिम भएको हो। उनले भने, “हामीले अभिनयमा अनुभवी र चर्चित अनुहारहरूलाई समेटेका छौं। अब केही सहायक भूमिकामा कलाकार चयन बाँकी छ। हाम्रो टोली मजबुत बनेको छ।”

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ । ‘महाराजधिराज’का निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का हुन् ।

प्रतिक्रिया दिनुहोस्