‘राम नाम सत्य’ मा सुपुष्पा, विराज भट्टसंग जोडी !


डेव्यु प्रोजेक्टलाई नै बम्पर बनाउन लागी परेका निर्देशक माइकल चन्दको ‘राम नाम सत्य’ का अभिनेत्री सुपुष्पा भट्टको प्रवेश भएको छ। विराज भट्ट, सुशील श्रेष्ठ र दिव्या रायमाझी यस अगाडी नै अनुबन्ध भैसकेको चलचित्रमा अव सुपुष्पाको प्रवेश भएको हो। सुपुष्पाले चलचित्रको टिमसंग कागजी सम्झौता गरिसकेकी छिन्।


चलचित्रमा उनि अभिनेता विराज भट्टको जोडीको रुपमा देखिने चर्चा रहेको छ । सुशील र दिव्याको जोडी चलचित्रमा देखिदैछ। सुपुष्पाले चलचित्र ‘फेरि रेशम फिलिली’ बाट अभिनयको तारिफ पाएकी थिइन् भने ‘पिताम्बर’ मा पनि उनि देखिएकी थिइन्। सुपुष्पा र दिव्या दुवै ‘पिताम्बर’ मा देखिएका थिए।

सुपुष्पा साइन गरेपछि निर्देशक चन्दले भने–‘हामीलाई सुपुष्पा जस्तै हाइट भएकी नायिका चाहिएको थियो । उहाँको अभिनय पनि अब्बल छ । कथाले मागे अनुसार नै फिट भएपछि हामीले उहाँलाई अनुबन्धित गरेका हौं ।’


माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको चलचित्रमा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ । चलचित्रका कार्यकारी निर्माता डाक्टर डी आर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन् । एक्सन, लभ र सस्पेन्स कथामा निर्माण हुने चलचित्रको छायांकन भदौबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ ।

प्रतिक्रिया दिनुहोस्