गुनासो पोख्दै ‘पर्खी बसें’ निर्देशक: नयाँलाई अवसर तर छैन आफ्नै क्षेत्रको साथ


नेपाली चलचित्र क्षेत्रमा दिपक श्रेष्ठ निर्देशकको रुपमा सफल नाम हो। उनले निर्माण गरेका चलचित्र सफल बनेका छन्। उनै श्रेष्ठको निर्देशनमा तयार भएको उनको २७ औँ निर्देशकीय चलचित्र ‘पर्खि बसें तिमीलाई’ पुस २७ गतेबाट प्रदर्शन हुँदैछ । माघेसंक्रान्ति लक्षित गर्दै प्रदर्शन गरिने चलचित्रमार्फत अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले पहिलोपटक मुख्य भूमिका निर्वाह गर्दैछन्।

एक पत्रकार भेटघाटको आयोजना गरेर चलचित्रको विषयमा जानकारी गराउनुका साथै निर्देशक श्रेष्ठले २७ औँ चलचित्र निर्देशन गर्दासम्मको अनुभव सुनाएका थिए । अभिनेता किरण श्रेष्ठ पनि मण्डला नाटकघर हुँदै चलचित्रसम्मको यात्राको अनुभव साटे । उनले सातवर्षमा तेह्र नाटकमा अभिनय गरिसकेका छन् ।

यसै चलचित्रमार्फत मुख्य अभिनेत्रीको रुपमा देखा पर्दै गरेकी अभिनेत्री रक्षा बुढाथोकीले पनि यात्राको अनुभव साटिन । निर्माता राजा राम बुढाथोकीले चलचित्र निर्माणमा आउनुको कारण बताए । उनले व्यावसायिक रुपमै अगाडि बढ्ने योजना साट्दै निर्माणलाई निरन्तरता दिने जनाए ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको चलचित्रमा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

यसमा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । चलचित्र ‘बादलपारी’ मा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।

दीपक श्रेष्ठ, निर्देशक : मैले अघिल्ला चलचित्र झैँ नयाँलाई अवसर दिएको छु । उहाँहरू नाममा नयाँ भएता पनि काम पुरानाले झैँ गर्नुभएको छ । तीन दशकको चलचित्र यात्राको अनुभवले पनि म किरण र रक्षाको भविष्य उज्वल छ भन्न सक्छु । तर, यहाँ काम नहेरी नै निर्णय सुनाइन्छ । जो पनि नयाँ बाटै पुरानो हुन्छन् । तर, नयाँलाई लिएर चलचित्र बनाउँदा बटुलेको अनुभव सुखद छैन । हलमा चलचित्र चल्ने वा नचल्ने टुङ्गो नहुने, मिडियाले पनि उचित स्थान नदिने लगायतका धेरै समस्याको सामना गर्दै यहाँसम्म आएका छौँ । नयाँलाई अवसर दिदैनन् भनिन्छ, अवसर दिदा चलचित्र भवनदेखि विभिन्न स्थानमा सङघर्ष गर्नुपर्ने हुन्छ । यही शैलीले नयाँलाई यस क्षेत्रमा आउन निकै गाह्रो हुने महसुश गरेको छु ।

प्रतिक्रिया दिनुहोस्