चलचित्रकर्मीको उपस्थितिमा निर्देशक लामिछानेले अमेरिकामा गरे पुनर्विवाह


‘लम्फु’, ‘बोक्सी’जस्ता रुचाइएका चलचित्र मार्फत निर्देशक गोपालचन्द्र लामिछानेले समाजलाई खास सन्देश दिने प्रयत्न गरे । यसपटक भने अब रिलमा होइन, रियलमै उनी सन्देशकर्ताको रुपमा प्रस्तुत भएका छन् ।

२५ औं वैवाहिक वर्षगाँठको छेकोमा लामिछानेले पत्नी गीतासँग पुनर्विवाह गरे । अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरको हिन्दूबौद्ध मन्दिरमा उनले शनिबार विवाह गरेर सामाजिक सन्देश दिए।

छोरी मोनिका र छोरा मौलिकले बाबुआमाको पुनर्विवाह गराइदिएका हुन् ।

लामिछाने दम्पतीको पुनर्विवाहमा मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीसहित कलाकारको बाक्लो उपस्थिती थियो । कलाकार प्रेमराजा महत, राजबल्लभ कोइराला, ऋचा घिमिरे, उषा पौडेल, अरुणिमा लम्साल, भावु लम्साल, राहुल केसी लक्ष्मण पौडेल, प्रवेश उप्रेती, उद्धव भट्टराई, शंकर घिमिरे, बाबुराम ढकाल, दिनेश कार्की लगायतले शुभकामना दिए ।

लामिछाने यसअघि चलचित्र निर्देशक समाजको सदस्य, सह–कोषाध्यक्ष हुँदै महासचिव समेत रहिसकेका छन् । उनी अन्तर्राष्ट्रिय पर्वत समाजका सल्लाहकार, इनासका प्रवक्ता र पर्वत समाज अमेरिकाका सल्लाहकार हुन् ।

गोपालले लेखेका धेरै नाटकमा गीताले समेत अभिनय गरेकी छन् । कतिपय नाटकमा उनीहरुले एकसाथ अभिनय समेत गरेका थिए । विवाहपछि आफूलाई कलाक्षेत्रमा समर्पित हुन पत्नी गीताले दिएको योगदानको गोपाल मुक्तकण्ठले प्रशंसा गर्छन् । कामको कुरा गर्दा, लामिछानेले सन् २०१२ मा रिलिज भएको चलचित्र ‘किन लाग्छ माया’बाट निर्देशन करिअर थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्