क्यान्सरलाई जितेकी साहारा प्रदिपसंग ‘२६ करोड’ खेल्दै
बलिउडका प्रख्यात अभिनेता विवेक ओबेरोयको उपिस्थतिका बिच नेपाली चलचित्र ‘२६ करोड’ निर्माणको औपचारिक घोषणा गरिएको छ । मंगलबार साँझ भारतको मुम्बईस्थित प्रसिद्ध पाँचतारे होटल ‘ताज ल्याण्ड्स एन्ड’ (Taj Lands End) मा आयोजित भव्य समारोहका बीच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
ओबेरोयको जन्मदिनको अवसरमा क्यान्सर पीडितको सहयोगार्थ क्यान्सर पेसेन्ट्स एड एसोसिएसन (CPAA)ले आयोजना गरेको ‘रोज डे’ समाहरोहका बिच चलचित्रको घोषणा गरिएको हो ।

कार्यक्रममा चलचित्रको मुख्य अभिनेत्रीमा साहारा आर शाहलाई अनुबन्धित गरिएको छ । कार्यक्रममा निर्माता सुवास भुसाल र नव-नायिका शाहका बीच औपचारिक सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। शाहले अनुपम खेरको एक्टर प्रिपेयर्स एक्टीङ्ग एकेडेमीमा अभिनय सिकेकी हुन् । अभिनेता ओबेरोयले शाहले चलचित्रमा डेब्यु गर्नु आफ्ना लागि जन्मदिनको सबैभन्दा ठुलो उपहार भएको बताए ।
अभिनेता ओबेरोयले लामो समयदेखि शाहको अभिभावकत्व सम्हाल्दै अएका छन् । शाह ३ वर्षको उमेरदेखि नै क्यान्सर रोगसँग संघर्षरत थिइन्। क्यान्सरलाई जितिसकेकी शाहलाई क्यान्सर पेसेन्ट्स एड एसोसिएसन (CPAA) मार्फत अभिनेता ओबेरोयले स्वास्थ्योपचार, शिक्षा र संरक्षकत्व प्रदान गर्दै अएका छन् । चलचित्र घोषणा समारोहलाई सम्बोधन गर्दै अभिनेता ओबेरोय निकै भावुक बनेका थिए। उनले भने – ‘मैले साहारालाई क्यान्सरसँग लड्दै गरेको एउटा सानो बच्चाको रूपमा देखेको थिएँ। आज उनले क्यान्सरलाई जितेर चलचित्रको मुख्य नायिकाको रूपमा सम्झौता गरिरहँदा म शब्दमा बयान गर्न नसकिने गरी भावुक भएको छु।’
समाजिक विषयवस्तु माथी निर्माण हुने चलचित्रमा विकास सुवेदीको लेखन तथा निर्देशन रहनेछ । निर्देशक सुबेदीले शाह अडिशन मार्फत चलचित्रमा छनौट भएको जानकारी दिए । कथा अनुसार हिन्दी लवजकी नायिका आवश्यक भएकोले पनि शाह छनौट भएको उनको भनाई छ ।
चलचित्रमा औपचारिक रूपमा आवद्ध हुनु अघि शाहले अभिनेता ओबेरोय र तारे जमिनपरका लेखक अमुल गुप्तेसँग आर्शिबाद समेत लिएकी थिइन । कार्यक्रममा ओबेरोयले चलचित्रको सफलताको शुभकामना दिनुका साथै निर्देशक सुवेदी र निर्माता भुसाललाई विशेष धन्यवाद दिँदै साहाराको सुखद फिल्मी करियरको कामना गरेका थिए ।
यसअघि नै चलचित्रको मुख्य भूमिकामा अभिनेता प्रदीप खड्का अनुबन्धित भइसकेका छन् । किङडम नेटवर्कको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन आगामी नोभेम्बर–डिसेम्बरमा नेपालको जुम्ला र काठमाडौँ तथा भारतको मुम्बई र केदारनाथका विभिन्न स्थानहरूमा गरिने निर्माता भुषालले जनाएका छन् । कर्नाली फिल्म फेष्टिवलका अवसरमा चलचित्रको छायांकन कर्णालीमा गर्ने सम्झौता भएको थियो । सोही अनुरूप फेष्टिवलका निर्देशक चक्र बहादुर चन्दको संयोजनमा मुम्बईमा चलचित्र निर्माणको घोषणा गरिएको हो ।








