प्रदर्शनमा आयो ‘पांच पाण्डव’


चर्चा र विवादको विचमा चलचित्र ‘पाँच पाण्डव’ प्रदर्शनमा आएको छ । धार्मिक विवाद र वहसका बीचमा सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको चलचित्र फ्राइडे रिलिजअन्तर्गत आजबाट प्रदर्शनमा आएको हो । भारतीय चलचित्र ‘रामायण’ को दवदबा बीच चलचित्रले सन्तोषजनक शो पाएको निर्माण टिमले बताएको छ ।

“हाम्रो चलचित्रले जति शो पाएको छ, बलिउडको ठूलो चलचित्र आएकाले यसलाई सन्तोषजनक मान्नुपर्छ,” निर्देशक वसन्त निरौला भन्छन्, “तर, हाम्रो चलचित्र राम्रो रहेकाले दोस्रो दिनबाटै हलहरुले शो थप्दै जानेमा हामी पूर्ण रुपमा ढुक्क छौँ ।”

बसन्त निरौलाले निर्देशन गरेको ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरी, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतका कलाकारको अभिनय रहेको छ ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्मातामा काली रानी श्रेष्ठ छिन् । ‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । यो चलचित्र ‘सोसल ड्रामा’ भएको लेखक पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्वलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्