‘कबड्डी ५’ को टिजर लाई दर्शकको उत्साहजनक प्रतिक्रिया


यो बर्षको प्रतिक्षित चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को टिजरले सार्वजनिक भएसंगै दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार सार्वजनिक भएको टिजरले रिलिजको १८ घण्टामा झन्डै साढे ९ लाख भ्युज प्राप्त गरेको छ। दर्शकको प्रतिक्रिया उत्साहजनक रहेको छ ।

सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार बिके (विजय बराल) को एआईसँगको कनेक्सनलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । यस्तै, काजी (दयाहाङ राई) र मैयाको इन्ट्री आकर्षक शैलीमा प्रस्तुत गरिएको छ। यो पटक चलचित्रमा मैयाको भूमिकामा सिर्जना गुरुङले अभिनय गरेकी छन् ।

चलचित्रको टिजरलाई अर्का अभिनेता विपिन कार्कीको प्रवेशले झन् रोचक बनाएको छ। टिजरमा यो सिरिजकी पहिलो मैया रिश्मा गुरुङ्गको प्रवेशले दर्शकमा झन् कौतुहलता थपेको छ। रामबाबु गुरुङ्गको लेखन तथा निर्देशनमा बनेको चलचित्र कार्तिक ६ गतेबाट रिलिज हुँदैछ।

चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, रिश्मा गुरुङ र सिर्जना गुरुङ मुख्य भूमिकामा छन् । यी कलाकारसहित पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्‍तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुधाथोकी, सरोज अर्याल र शेखर चापागाईंले अभिनय गरेका छन् ।

‘कबड्डी ४: द फाइनल म्याच’ मा मुख्य भूमिकामा देखिएकी अभिनेत्री मिरुना मगरलाई भने चलचित्रको प्रचार सामाग्रीमा लुकाइएको छ ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्