एमालेले २५ वर्षमा गर्न नसकेको काम ५ वर्षमा गरेर देखाउँछौँ श्याम घिमिरे 


मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको सरगर्मी बढेको छ । चुनाव नजिकिए सँगै सिन्धुली जिल्लामा पनि राजनीतिक दलहरूले आ(आफ्नो चुनावी कार्यक्रमहरू तीव्र बनाएका छन् । प्रतिनिधिसभामा २ वटा निर्वाचन क्षेत्र भएको सिन्धुलीमा सत्तारुढ गठबन्धन र नेकपा एमाले नै एक(अर्काको मुख्य प्रतिस्पर्धी देखिएका छन् । 

सङ्घीय क्षेत्र नं। १ मा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य श्याम कुमार घिमिरे उम्मेदवार छन् भने उनको प्रतिस्पर्धीको रूपमा एमालेले पूर्व जिल्ला कमिटीका अध्यक्ष तथा निवर्तमान प्रदेशसभा सदस्य प्रदीप कटुवाललाई अघि सारेको छ। यस क्षेत्रमा जम्मा ४१ वटा वडा रहेकोमा २१ वडामा काँग्रेस, ६ वडामा माओवादी केन्द्रले जितेको छ भने एमाले जम्मा १४ वडा(अध्यक्षमा निर्वाचित भएको छ । यो क्षेत्रमा दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका र कमलामाई नगरपालिकाको ९,१३ र १४ वडा पर्छन् । यसरी वडामा निर्वाचित भएका गठबन्धनका वडा(अध्यक्षको सङ्ख्या र शक्ति लाई हेर्ने हो भने गठबन्धनका सङ्घ र प्रदेश सदस्य पदका उम्मेदवारहरुकोको जीत सहज देखिन्छ । 

गठबन्धनका कार्यकर्तामा यही अङ्कगणितको ऊर्जा र उत्साहसहित चुनावमा सक्रियता देखिन्छ भने नेकपा एमाले पनि २५ वर्षदेखि निर्वाचित भएको यस क्षेत्रमा आफू कमजोर नभएको ढङ्गले चुनावमा आशावादी देखिन्छ । तर गठबन्धनका उम्मेदवारले एमालेको त्यही २५ वर्ष देखि निर्वाचित जनप्रतिनिधिले जनताको आकाङ्क्षा र आवश्यकता पूरा गर्न नसकेर बढेको असन्तुष्टिलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएको छ । आज दुधौली नगरपालिका वडा नं। ४ को पचरुखीमा संयुक्त गठबन्धनको पालिका स्तरीय कार्यकर्ता भेलामा सङ्घका उम्मेदवार श्याम कुमार घिमिरेले नेकपा एमालेको त्यही २५ वर्षमा गर्न नसकेको काम आफू निर्वाचित भए ५ वर्षमा गरेर देखाउने दाबी कार्यकर्ताको बिचमा प्रस्तुत गरे । घिमिरेले भने गठबन्धनका नेता कार्यकर्ता साथीहरू तपाईँहरू उत्साहित भएर चुनावमा लाग्नुस्, हामी निर्वाचित भएर २५ वर्षमा नेकपा एमालेले एक्लै शासन गरेर गर्न नसकेको काम गर्नेछौँ । हरेक जनताले विकास प्रेमी जनप्रतिनिधि पाएको महसुस गराउने छौँ । उनले थपे, यस क्षेत्रको सम्पूर्ण समस्या हामीले बुझेका छौँ र त्यो गर्ने दायित्व बोकेर हेटौँडा र काठमाडौँ जानेछौँ । तीनै तहको सरकार हाम्रो हुनेछ र हामी विकास गर्ने असहजता बाट मुक्त उनेछौँ । दुधौली औद्योगिक विकासको सम्भावना बोकेको ठाउँ रहेको घिमिरेले बताए । घिमिरेले भने दुधौली औद्योगिक सहरी क्षेत्रको केन्द्र बन्नेछ, दुधिलीको योजनाबद्ध बसोबास हाम्रो लक्ष्य हो, डकाहा(नवलपुर सडक व्यापारको ट्रान्जिट हुनसक्छ हामी त्यो छिटो बनाउनेछौँ, कमला नदीको नियन्त्रण गरेर यहाँका किसानको दुख  अन्त्य गर्नेछौँ, जिनाखु(अरुण र ककुरको दुधौली आउने(जाने सडक पक्की बनाउनेछौँ, मधुगंगा मन्दिर जाने स्तरीय बाटो बनाएर धार्मिक पर्यटनको विकास गर्नेछौँ, दुधौलीमा बसोबास गर्ने ठुलो जनघनत्व रहेको दनुवार समुदायको संस्कृति र परम्पराको संरक्षण गरेर दनुवार समुदायको सामाजिक,राजनीतिक(आर्थिक क्षमताको विकास गर्नेछौँ I

उक्त कार्यक्रममा गठबन्धन दलका शीर्ष नेतृत्वको उपस्थिति थियो । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य गंगा नेपाल, नेपाली काँग्रेसका जिल्ला सभापति उपेन्द्र कुमार पोखरेल, पूर्व जिल्ला सभापति उज्ज्वल प्रसाद बराल, मोहन प्रसाद बराल, काँग्रेसका महासमिति सदस्यहरू प्रेमचन्द्र दाहाल, प्रेम प्रसाद भट्टराईको समेत उपस्थिति थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नवराज कार्की, घनश्याम बस्नेत जस्ता जिल्ला तहका शीर्ष नेतृत्वको उपस्थिति रहेको थियो । उपस्थित गठबन्धनका सम्पूर्ण नेताहरूले यो चुनाव प्रतिगमन र अग्रगमन बिचको लडाइँ भएको र प्रतिगामी र दक्षिणपन्थी शक्ति नेकपा एमालेको पराजय नै गठबन्धनको मुख्य लक्ष्य रहेको नेताहरूको भनाइ थियो । उनीहरूले कार्यकर्ताहरूलाई ढुक्क भएर गठबन्धनलाई जिताउन लाग्न समेत निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्