चलचित्र ‘बा : एक योद्धा’ को ट्रेलर सार्वजनिक


हरि लम्सालको निर्देशनमा तयार भएको चलचित्र ‘बा : एक योद्धा’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरको केन्द्रमा बुवाको संघर्ष छ । बुवाले सन्तानका लागि गरेको संघर्ष र त्यागको सेरोफेरोमा ट्रेलर घुमेको छ । आफ्नो सन्तानको सुख र खुसीका लागि बुवा जस्तो सुकै त्याग, संघर्ष र बलिदानी दिन तयार हुन्छ भन्ने ट्रेलरले सन्देश दिएको छ ।

आफ्ना सन्तानका लागि बलिदान दिन तयार हुने बाबुआमा तर त्यसको गुन भुल्ने समाज निर्माण हुँदै गएको पछिल्लो कालखण्डको यथार्थ हो । यही नै ट्रेलरमा छ । आफ्नो सन्तानको खुसीका लागि आफू बसेको घर पनि बेच्न तयार बाबुलाई सन्तानले दिएको दुःख र त्यसको परिणाम ट्रेलरमा देखिन्छ ।

चलचित्र भदौ १९ गते रिलिज हुँदैछ । चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।

चलचित्रका निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्