A vertical shot of the black cat in the dark darkness

‘नेफ्टा फिल्म अवार्ड’को ११ औं संस्करण अमेरिकामा


नेपाली फिल्म क्षेत्रको सबैभन्दा प्रतिष्ठित ‘नेफ्टा फिल्म अवार्ड’को ११ औं संस्करण अमेरिकामा आयोजना हुँदैछ । आज डिजिटल पत्रकार सम्मेलनको आयोजना गर्दै अवार्ड आयोजकले औपचारिक रुपमा मे २७ मा अमेरिकाको टेक्ससमा अवार्ड आयोजना हुन लागेको जानकारी दिएको छ ।

यसअघि नेपालसँगै मलेसिया, कतार, हङकङ र दुबईमा आयोजना भएको प्रतिष्ठित फिल्म अवार्डलाई यसपटक अमेरिकामा पुर्याउन पाउँदा खुशी लागेको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले डिजिटल पत्रकार सम्मेलनमा बताए । उनले भने–‘कोरोना महामारीपछि नेपाली फिल्मको बजार अझै विस्तार भएको छ । अमेरिकालाई नेपाली फिल्मसँग जोडेर हेर्न सकेको खण्डमा नेपाली फिल्म क्षेत्रले अझै फाइदा लिनेछ भन्नेमा विश्वस्तु छौं ।’

४२ विधामा वितरण गरिने अवार्डलाई भव्य, सव्य र थुप्रै सरप्राइजका साथ आयोजना गरिने फेम नेपालका संचालक विमल कुमार पछाईले जानकारी दिए । उनले, अवार्डमा हलिउड र बलिउडका प्रतिनिधीहरुलाई समेत सहभागी गराउने कोशिश भैरहेको बताए ।

यो अवार्ड ६३ सय दर्शक अट्ने क्षमता भएको टेक्सस ट्रष्ट सियू थिएटरमा आयोजना हुँदैछ । भर्चुअल पत्रकार सम्मेलनमा आयोजकले अवार्ड हुने हलको भिडियो समेत सार्वजनिक गरेको थियो ।

कार्यक्रममा नेपाली फिल्म क्षेत्रका चर्चित नायक राजेश हमालले शुभकामना दिदै अवार्ड आयोजना चुनौतीपूर्ण भएपनि आयोजक सफल हुनेमा विश्वास व्यक्त गरे ।

यस्तै, अवार्ड आयोजक संस्था यूएस खबरका प्रधान सम्पादक किशन रेग्मीले पनि नेपाली फिल्म र फिल्मीकर्मीलाई कमजोर आँकलन गर्नेहरुलाई यो अवार्डले राम्रो जवाफ दिने बताए ।

अवार्डमा नेपाली फिल्म क्षेत्रका चर्चित अनुहारहरु राजेश हमाल, भूवन केसी, निर शाह, सौगात मल्ल, पूजा शर्मा, प्रदीप खड्का, प्रियंका कार्की, साम्राज्ञी राज्यलक्ष्मी शाह, केकी अधिकारी, पुष्प खड्का, वर्षा राउत लगायतका ३ दर्जन बढी कलाकार सहभागी हुने आयोजकले बताएको छ ।

यो अवार्डलाई अमेरिकामा रहेका यूएस खबर मिडिया नेटवर्क कर्पोरेशन, फेम नेपाल, ८८४८ मिडिया, आर्यन फिल्मस् र नेपाली समाज टेक्ससका महासचिव सन्देश उप्रेतीले संयुक्त आयोजकको रुपमा आयोजना गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्