सरिता लामिछानेको ‘सरि मम’ को ट्रेलर, ‘अवतार’ को चेपुवाले रिलिज सर्यो


पारिवारिक कथामा निर्माण भएको चलचित्र ‘सरी मम’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रम सहित निर्माण टिमले ट्रेलर रिलिज गरेको हो ।

एनएफआई कृयशनको ब्यानरमा निर्माण भएको चलचित्रले लागुऔषध दुर्व्यसनी विरुद्धको आवाज बोल्छ । चलचित्रको ट्रेलरमा कुलतमा परेको एक किशोर र त्यसले उसको परिवार र जीवनमा ल्याउने उतारचढावको कथा जोडिएको छ ।

कार्यक्रममा बोल्दै मुख्य कलाकार सरिता लामिछानेले बर्षौदेखि पर्दा पछाडि रहेर नेपाली चलचित्रको लागि क्रियाशिल प्राविधिकहरूको टिमले तयार गरेको चलचित्रमा मेहनत र सन्देश जोडिएको बताइन् ।

निर्माता विनोद लामाले आँखा अगाडी परिरहने समाजको कथालाई टिपेर ‘सरी मम’ तयार गरेको बताए । कथा लेखक समेत रहेका लामाले सार्वजनिक प्रदर्शनीसँगै च्यारेटी प्रदर्शनीको माध्यमबाट समेत गरि लक्षित वर्गमा चलचित्र पुर्याउने र त्यसको लागि सबैको सहयोग आवश्यक रहेको बताए । नेपाली हलमा पर्ने हलिउड चलचित्र ‘अवतार’को प्रभावपछि चलचित्रको प्रदर्शन मंसिर २९ बाट सरेर अब माघ ५ लाई तोकिएको लामाले बताएका छन् ।

नविन बोगटीको निर्देशनमा बनेको चलचित्रमा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल , प्रेविल कडेल , आरबि कटुवाल , बिहान श्रेष्ठ, युनिसा बजगाइँ , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् । यो चलचित्रमा दिर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको चलचित्रका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।

यो फिल्मको निर्माण र प्रदर्शनीमा सहकार्य गर्दै शिक्षा र दुर्व्यसनी विरुद्धको यात्रामा जोडिएका संस्थाहरू नेपाल जेसिज, नार्कोनान नेपाल, प्याब्सन , एन-प्याब्सन , हिसान , शिक्षक महासंघ लगायत निर्माण ब्यानरसँग जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस्