रिलिज मिति सरेको हल्ला पछि ‘जिरो डिग्री’ टिमको स्पष्टोक्ति, तिहारमा नै आउने पक्का
चलचित्र ‘जिरो डिग्री’ ले तिहारलाई आफ्नो प्रदर्शन मिति तय गरेको केहि समय अगाडी नै हो। मेघौली फिल्म्सको व्यानरमा तयार भएको यो चलचित्र तिहारमा नआउने हल्ला चलेपछि निर्माण टिमले यसको बारेमा आफ्नो धारणा सार्वजनिक गरेको छ । टिमले चलचित्र तिहारमा नै आउने स्पष्ट पारेको छ।

चलचित्रका निर्देशक आकाश बरालका अनुसार ‘जिरो डिग्री’को रिलिज मिति कुनै आवेग वा प्रतिस्पर्धालाई आधार बनाएर तय गरिएको होइन। कथा, बजार, दर्शक, वितरण, प्रचार–प्रसार र समग्र निर्माण योजनाको गहन अध्ययनपछि नै तिहारलाई प्रदर्शनको उपयुक्त समयका रूपमा रोजिएको उनले बताए।
“हामीले चलचित्रको छायांकन सम्पन्न भएपछि पहिलो चरणको सम्पादन हेरेर पूर्ण रूपमा विश्वस्त बनेपछि मात्र रिलिजको योजना सार्वजनिक गरेका हौँ। तिहार परिवारसँग बसेर चलचित्र हेर्ने उत्कृष्ट समय भएकाले हामी यही अवसरमा दर्शकमाझ आउँदैछौँ,” निर्देशक बरालले बताए।
चलचित्रका कार्यकारी निर्माता मोती कार्कीले पनि ‘जिरो डिग्री’ निर्धारित योजना अनुसार नै २०८३ सालको तिहारमा प्रदर्शन हुने जानकारी दिँदै रिलिज मिति परिवर्तन हुने हल्लामा कुनै सत्यता नरहेको बताए।
‘बेहुली फ्रम मेघौली’पछि निर्देशकद्वय साजन काफ्ले र आकाश बरालको दोस्रो निर्देशकिय चलचित्र हो ‘जिरो डिग्री’। चलचित्रमा विजय बराल, सनिशा भट्टराई, राजन भुसाल, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सुभाष गजुरेल, रामबाबु रेग्मी, सुवर्ण थापा, सञ्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल र सबिना थापा क्षेत्रीलगायत कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रका लेखक, निर्देशक तथा निर्माता साजन काफ्ले र आकाश बराल हुन् भने कार्यकारी निर्माता मोती कार्की रहेका छन्।




