‘आदिवासी जनजाति चलचित्र विशेष सम्मान-२०७९’ बाट विजय, मिलन र एलिशा सम्मानित


‘आदिवासी जनजाति चलचित्र विशेष सम्मान-२०७९’ बाट चार जना आदिवासी जनजाती कलाकर्मी सम्मानित भएका छन् । सम्मानित हुनेहरूले समाजमा गरेको समाजसेवा, चलचित्र र सङ्गीत उद्योगमा पुर्‍याएको अतुलनीय योगदानको उच्च मुल्याङ्कन सहित उक्त सम्मान प्रदान गरिएको हो।

बिहीबार सुनसरीको झुम्कामा अवस्थित म्याजिक फिल्म हलमा अभिनेता विजय लामा, निर्देशक मिलन चाम्स, गायक पूणर् लिम्बु र मोडल एलिशा राईलाई आदिवासी जनजाति चलचित्र महासंघले सम्मान गरेको हो । प्रदेश १ ले एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उक्त सम्मान गरिएको थियो ।

यस्तै नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ अध्यक्ष अरुणकुमार प्रधान, म्याजिक सिनेमा हलका सञ्चालक तथा थारु चलचित्र उद्योगका पहिलो नायक पर्शुराम चौधरी, चलचित्र निर्माता तथा निर्देशक लाखमान योन्जन तामाङ, कलाकार तथा समाजसेवी रितेशलंग खत्री लगायतलाई पनि सम्मान गरियो । ‘आदिवासी जनजाती चलचित्रको महत्व र आवश्यकता सम्बन्धि अन्तरक्रिया, सम्मान कार्यक्रम तथा साधारण सभा’ नाम दिइएको कार्यक्रममा महासंघका प्रदेश १ अध्यक्ष ज्योतिराज राईको सभापतित्व तथा प्रदेश १ संसद इन्द्र आङ्बोको प्रमुख आतिथ्यता रहेको थियो ।


चलचित्र विकास बोर्ड सह-आयोजक रहेको कार्यक्रममा विभिन्न आदिवासी जनजातिले आ-आफ्नो झाकी, भाषीक गीतमा नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद अध्यक्ष पुर्खाजीत राई, महासंघका निवर्तमान अध्यक्ष अमृतबहादुर सुनुवार, नेपाल निर्देशक समाजका महासचिव जनकदिप पराजुली, आदिवासी जनजाति महासंघ इटहरी अध्यक्ष चिरहाङ राई, सङ्गीत साधाना इटहरीका महासचिव राजु केसी लगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्