‘खोजियो भने भगवान त भेटिन्छ भनिन्छ, भविष्य कसो नभेटिएला भन्ने अठोटका साथमा कमेडीमा लागेको छु’ – कैलाश कार्की


मिलन ढुंगाना

कमेडी पछिल्लो समय नेपालमा सर्वाधिक रुचाईएको बिषय हो। चलचित्र देखी टेलिभिजन कार्यक्रम सम्म पनि कमेडी आजकल रोजाईको बिषय बन्दै गएको छ। नयाँ पुस्ताका नयाँ कमेडियनहरु चर्चामा रहेका छन्। बिशेष गरि स्ट्याण्डप कमेडी मार्फत पछिल्लो समय नयाँ कमेडियनहरुको जन्म भैरहेको छ भने रियालिटी शोले पनि यसमा महत्वपूर्ण योगदान दिएको छ। पछिल्लो समय टेलिभिजनमा रुचाइएका युवा कमेडीयनमा कैलाश कार्की पर्ने गर्दछन्। टेलिभिजनको कमेडी शो ‘कमेडी क्लव विथ च्याम्पियन’ मा प्राय भिखारीको भूमिकामा देखिएर चर्चामा आएका छन्।

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ का प्रोडक्ट हुन्, कैलाश। यो शो को दुई वटा सिजनमा कैलाश देखिएका थिए। अडिसन सहितका भिडियो हेर्ने हो भने कैलाशले २० वटा प्रस्तुती कमेडी च्याम्पीयनमा दिएका छन्। लगातार उनका प्रस्तुतीले दर्शकको तारिफ बटुलेका छन्। शोको बिजेता बन्न नसके पनि पाएको दर्शकको मायाले उनि सन्तुष्ट रहेका छन्। कैलाश भन्छन्,’ म अहिलेसम्म सहभागी रियालिटी शोको बिजेता बन्न सकेको छैन । तर दर्शकले दिनु भएको माया र पाएको साथलाई मैले ठुलो सफलता मान्छु। यसमा नै म सन्तुष्ट रहेको छु। ‘

सोलुखुम्बु स्थायी घर भएका कैलाश बाल्यकालमा अध्ययनमा सफल बिद्यार्थी रहेका थिए। कक्षामा सधै उत्कृष्ट नतिजा ल्याउने उनि गणित र विज्ञानमा अब्बल बिद्यार्थीको रुपमा रहेका थिए। अध्ययनलाई थाति राख्दै कलाकारितामा भविष्य खोजेका कैलाश आफु त्यो बाटोमा सफल हुदै गएको आभाष गर्छन्। कैलाश भन्छन् , ‘ भन्न त खोजियो भने भगवान त भेटिन्छ भनिन्छ, भविष्य कसो नभेटिएला भन्ने अठोटका साथमा कलाकारिता (कमेडी) मा लागेको छु। अहिले देश विदेशका दर्शकबाट माया पनि बटुलिरहेको छु। ‘

बाल्यकाल बाट नै साथीभाई हरु जम्मा परेर कमेडी गर्न उत्सुक रहने कैलाश आफ्नो बाल्यकालको स्वभावलाई नै भविष्य बनाउने अठोट गरेर अगाडी बढिरहेका छन्।
कमेडी च्याम्पियनको पहिलो सिजनमा टप १५ र दोश्रो सिजनमा टप ६ सम्म पुग्न सफल भएका कैलाश भोटिङ्ग राउण्डमा बाहिरिने गरेका थिए। तर बाहिरिएको त्यो यात्राबाट नै उनको करियरको नयाँ यात्राको सुरुवात भएको थियो । सोहि टीमले नेपाल टेलिभिजनका लागि निर्माण गरेको नयाँ कमेडी शो बाट उनि चर्चामा रहेका छन्। उक्त शोमा फरक फरक क्यारेक्टरमा देखिने कैलाशलाई भिखारी भूमिकामा दर्शकले रुचाएका छन्।

कैलाश आफ्नो स्लो तर गतिशील यात्राले सन्तुष्ट रहेको बताउछन्। उनि भन्छन् ,’गति सिमित रहेको तर निरन्तर रहोस् दुर्घटनाको डर बिना नै गन्तव्यमा पुगिन्छ। ‘

प्रतिक्रिया दिनुहोस्