‘आफु गयौ नेटो काटी’ म्युजिक भिडियो सार्वजनिक


काठमाडौँ । एकल महिलाप्रति समर्पित ‘आफू गयौ नेटो काटी’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

 साहित्यकार राम लामा ‘अविनाशी’द्वारा निर्मित तथा वरिष्ठ कलाकार एवम् निर्देशक आकाश अधिकारीद्वारा निर्देशित उक्त गीतको बिहीबार राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष विद्याकुमारी सिन्हाले सार्वजनिक गर्नुभएको हो । 

 कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष सिन्हाले महिलाप्रति हुने विवेद अन्त्य गर्दै समाज रूपान्तरणका लागि ‘आफू गयौ नेटो काटी’ म्युजिक भिडियोले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले एकल महिलाका लागि सुरक्षा कोष स्थापना भएपनि प्रभावकारी परिचालन हुन नसकेको बताउनुभयो । एकल महिलालाई अगाडि बढाउन राष्ट्रिय महिला आयोगले विभिन्न कार्यक्रमलाई अगाडि सारेको उहाँको भनाई थियो ।

 उहाँले म्युजिक भिडियोले समुदायका महिलाको अवस्थालाई यथार्थ बुझ्ने काम गरेको बताउनुभयो । त्रिभुवन विश्वविद्यालयका प्राडा खगेन्द्रप्रसाद लुँईटेलले समाजमा भोगिरहेको घटनालाई गीतले यथार्थ वर्णन गरेको बताउनुभयो । सफल व्यवसायी, समाजसेवी, साहित्यकार एवम् पत्रकार राम लामा ‘अविनाशी’ले विदेशमा बसेर नेपाली साहित्य तथा गीत सङ्गीतलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको उहाँको भनाई छ । 

 गीतका निर्देशक अधिकारीले शब्दमा नभई व्यवहारमा महिलालाई सम्मान गरेमात्र समाजप्रतिको दायित्व बढ्ने बताउनुभयो । गीतले सामाजिक रूपान्तरणको ‘म्यासेज’ दिन खोजेको बताउनुभयो । उक्त गीत अन्जु पन्तले गाउनुभएको छ भने आकाश अधिकारी र उमा गिरीले अभिनय गर्नुभएको छ । लिरिक्स राम लामा ‘अविनाशी’को रहेको छ भने म्युजिक शक्ति बल्लवले दिनुभएको छ । उक्त गीत अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्