‘आ बाट आमा २’ लाई सेन्सर बोर्डको ‘पीजी’ सर्टिफिकेट
विजया दशमीको पावन अवसर पारेर प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित चलचित्र ‘आ बाट आमा २’ लाई सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको छ। असोज ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र हेर्न १६ वर्षभन्दा कम उमेरका दर्शकहरूले आफ्ना अभिभावकलाई साथमा लैजानुपर्ने छ।

चन्द्र पन्तको कथा तथा निर्देशनमा निर्माण भएको चलचित्रमा विपना थापा, प्रदीप रावत, पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडा लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।

चलचित्रका सार्वजनिक प्रचार सामाग्रीले दर्शकमा उच्च हाईप बनाएको छ। यसले दर्शकमा चलचित्र प्रति थप उत्सुकता बढाएको छ।
चलचित्रको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टकै रहेको छ। नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको सङ्गीत तथा गम्भीर बिष्टको नृत्य निर्देशन रहेको चलचित्रको प्रोडक्सन एक्जिक्युटिभ करण सिंह हुन्।








