‘ज्याकीः आई एम ट्वान्टी वान’ प्रिमियर : पहिलो डान्स ड्रामालाई सेलिब्रेटीको यस्तो प्रतिक्रिया


बैशाख २१ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’ को मंगलबार भव्य प्रिमियर गरियो। काठमाडौंको आइ प्लेक्स मल स्थित वान सिनेमाज्मा आयोजना गरिएको चलचित्रमा आमन्त्रित पाहुनाको बाक्लो उपस्थिति रहेको थियो।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, अभिनेत्रीहरु प्रियंका कार्की, केकी अधिकारी, रिमा विश्वकर्मा,आना शर्मा, शिल्पा मास्केको साथमा कोरियोग्राफर कविराज गहतराज लगायत सयौ आमन्त्रित अतिथि चलचित्रको प्रिमियरमा पुगेका थिए। प्रिमियर हेरेर फर्किएका अधिकांशले निर्देशक रिनशा राई रानाले भन्न खोजेको कथाको खुलेर तारिफ गरे। बजारमा जे चल्छ र जे बिक्छ त्यहि मात्र र त्यस्तै चलचित्र बनाउने ट्रेन्ड भत्काउन सफल भएको प्रिमियरमा सहभागी अतिथिले प्रतिक्रया दिए।

निर्देशक प्रदिप भट्टराईले निर्देशक राईले गरेको प्रयासले नेपाली चलचित्र मेकरका लागी नयाँ बाटो खोलिदिएको प्रतिक्रिया दिए। नायिका प्रियंका कार्कीले रिनशाका हरेक काम आँखालाई शितलता मिल्ने खालका हुने र यो पहिलो डान्स ड्रमाले आनन्द दिएको प्रतिक्रिया दिईन्। कलाकारको खुलेर तारिफ गर्दै अभिनेत्री शिल्पा मास्केले चलचित्रको इन्मादर कोसिसको प्रशंसा गरिन्।


नायिका आना शर्माले चलचित्रमा कलाकारको मिहेनत, डान्सको कथा र संगीतले आफुलाई छोएको प्रतिक्रिया दिएकी छिन्। नेपाली चलचित्र क्षेत्रमा फरक कोसिस गर्न आफैमा चुनौती भएको भन्दै अभिनेत्रीहरु केकी अधिकारी र रिमा विश्वकर्माले निर्देशक, कलाकार र प्राविधिकहरू कामको खुलेर तारिफ गरे। आइकोर फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रमा धिरज मगर, जसिता गुरुङ्ग, अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्