बगान प्रिमियर: सेलिब्रेटी देखि राजनीतिज्ञका आँखा रसाए


यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘बगान’को काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ । बुधवार साँझ बानेश्वरस्थित वन सिनेमाजमा भएको प्रिमियरमा पत्रकारहरूसँगै कलाकर्मी, शुभचिन्तक र राजनीतिज्ञहरूको बाक्लो उपस्थिती रहेको थियो । चलचित्र हेर्न उपसभामुख इन्दिरा राना, निर्देशकहरु लक्ष्मीनाथ शर्मा, नरेश पौडेल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, शोभित बस्नेत, ऋषि लामिछाने, अभिनेताहरू कृष्ण मल्ल, अशोक शर्मा, रमेश उप्रेती, मुकुन भुषाल, गायकहरू विकास राणा, सत्यराज आचार्य, स्वरुपराज आचार्य, गायिका देविका बन्दना, सुनिता दुलाल, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, पूर्व मूख्य सचिव भिम उपाध्याय, लेखकहरु प्रदिप भारद्वाज, विकास सुवेदी, कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । चलचित्र हेर्ने अधिकांशले केहि दृश्य र संवादले भावुक बनाएको प्रतिक्रिया दिए भने यसै चलचित्रबाट चलचित्रमा प्रवेश गरेकी प्रमिला कार्कीको अभिनयको तारिफ गरे । सँधै चुलबुले भूमिकामा अभिनयमा देखिने करिश्मा मानन्धरले गम्भीर भूमिकामा अभिनय गरेको अब्बल अभिनेत्री प्रमाणित गरेको भन्दै प्रशंसा भएको छ ।

चलचित्र हेरिसकेपछि उपसभामुख इन्दिरा रानाले सबै छोराछोरीले ‘बगान’बाट धेरै कुरा सिक्न सक्ने बताईन् । एकल आमा उनले चलचित्रमा छोरीले आमाको लागी जे गरेकी छन्, त्यहि काम छोराले पनि गर्न सक्यो भने समाज उत्तम हुने बताईन् ।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले यो चलचित्र मात्र नभई क्रान्ति भएको प्रतिक्रिया दिईन् । “यस्तो प्रकारको बिषयवस्तु उठाउनलाई ठुलै मुटु चाहिन्छ । सरोज खनाल जस्तो अभिनेता हुनुहुन्छ, त्यस्तै अब्बल निर्देशन गर्नुभएको छ”, निरौलाले बताईन् । उनले अभिनेत्री मानन्धरले आफुलाई अब्बल नै हुँ भनेर प्रमाणित गरेको जनाईन् ।

अभिनेता रमेश उप्रेतीले कम रुने आफुलाइ यो चलचित्रले रुवाएको बताए । “म पुरुष हुँ, कम रुन्छु । म यत्तिकै पक्कै रोईन होला । ‘बगान’ हेर्दा तपाईंको आँखामा आँशु आएन भने मेरो नाम रमेश उप्रेती नै होइन”, उनले प्रतिक्रिया दिए । निर्देशक शोभित बस्नेतले यो चलचित्र पूर्ण पारिवारिक रहेको बताउँदै करिश्मा मानन्धर सुन्दरी नायिका मात्र नभएर पक्का कलाकार पनि हो भन्ने प्रमाणित भएको बताए ।

अभिनेत्री मानन्धरले पहिलोपटक पुरा चलचित्र हेरेपछि आत्मसन्तुष्टी मिलेको बताईन् । उनले भनिन्, “एक कलाकारलाई आफ्नो काम मन पर्दैन, तर ‘बगान’ हेर्दा म सन्तुष्ट भएँ ।” निर्देशक तथा अभिनेता सरोज खनालले चलचित्र हेरेर प्रतिक्रिया दिने सबैलाई धन्यवाद दिँदै अब दर्शकको हातमा चलचित्र जिम्मा लगाएको बताए । अभिनेत्री प्रमिला कार्कीले आफुले आफुलाई पर्दामा दर्शकसँग बसेर हेर्नु निकै गाह्रो रहेको महशुस गरेको बताईन् । कार्कीले भनिन्, “प्रिमियरमा प्राप्त प्रतिक्रियाबाट म नयाँ आउँदै गरेको कलाकारको हिसाबले उर्जा प्राप्त भएको छ ।” निर्माता तथा गीतकार सुरेश वाग्लेले दर्शकलाई चलचित्र कस्तो लाग्छ त्यो प्रमुख रहेको बताउँदै आफुले यस चलचित्रमा राम्रो गीत लेखेछु जस्तो पनि लागेको बताए ।

यो चलचित्रले देशभरनै एकल आमाहरूलाई निशुल्क चलचित्र देखाउने घोषणा गरिसकेको छ । यसको लागि चलचित्र हलमा सरकारले जारी गरेको एकल आमाको परिचयपत्र देखाउनुपर्नेछ । यस चलचित्रमा खनाल, मानन्धर, कार्कीसँगै, आकाश श्रेष्ठ, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्रबाट अभिनेता खनालले निर्देशनमा र अभिनेत्री कार्कीले अभिनयमा डेब्यु गरेका हुन् । नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् ।

यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा चलचित्र प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्