‘जारी’ को प्रदर्शनको १०० दिन पार, १७ करोड माथीको कमाई


नेपाली बक्स अफिसमा चलचित्रको कमजोर प्रदर्शन भैरहेको बेलामा चलचित्र ‘जारी’ ले प्रदर्शनको १०० दिन पार गरेको छ। १०० दिनको यात्रा नेपाली चलचित्रले करिब ५ बर्षपछि पार गरेको हो। बैशाख १ गतेबाट रिलिज भएको चलचित्रले उपत्यकाभित्र तीनवटा हलमा सय दिन मनाएको छ। चलचित्रले सिभिल मल, बिग मुभिज र एफक्यूब मा प्रदर्शनको १०० दिन पार गरेको छ। प्रदर्शनको सुरुवाती दिनमा आक्रामक व्यापार गरेको चलचित्रले १७ करोड माथीको ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डको तथ्यांकले देखाउछ ।

यो चलचित्रले नेपाली चलचित्र इतिहासमा सर्वाधिक कमाइ गर्ने चलचित्रको तेश्रो स्थानमा समेत रहेको छ। दुई ठूला ब्रान्ड ‘कबड्डी’ र ‘छक्का पञ्जा’ सिरिजपछि यो चलचित्रले सर्वाधिक कमाई गरेको हो। मौलिक कथा र सिम्पल प्रस्तुती चलचित्रको ठुलो मेरुदण्ड भएको चलचित्र विश्लेषकले बताउने गरेका छन्। लिम्बू परम्परामा रहेको जारी प्रथामाथी आधारित रहेर निर्माण गरिएको चलचित्रलाई उपेन्द्र सुब्बाले निर्देशन गरेका छन् ।

दयाहाङ राई र मिरुना मगरबीचको प्रेमकथालाई प्रस्तुत गरिएको चलचित्रको वर्ड अफ माउथ उत्कृष्ट रहेको थियो। विदेशमा पनि चलचित्रले एतिहासिक कमाई गरेको आँकडा रहेको छ।

चलचित्रमा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल,लगायतको पनि अभिनय छ । रामबाबु गुरुङ निर्मित चलचित्र उपत्यका बाहिरका विभिन्न स्थानमा ८० दिन बढी चलेको थियो।

प्रतिक्रिया दिनुहोस्