‘मेरो कविताको शीर्षक छ’ लिएर ‘बोबी’ नायिका कविता नेपालमा


चलचित्र ‘बोबी’ की अभिनेत्री कविता गुरुङको कविता संग्रह ‘मेरो कविताको शीर्षक छ’ लोकार्पण गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्माता संघका कोषाध्यक्ष ज्योती राई लगायतले कविता संग्रहको ‘सट लिष्ट’ सार्वजनिक गरे ।

कार्यक्रममा अभिनेत्री गुरुङले आफ्नो जीवनका भोगाईका अनुभवहरु कविता मार्फत उतारेको बताइन् । ‘म राम्रो कवि, साहित्यकार होइन । आफुले लेखेको कविता सबैलाई सुनाउन, देखाउन मनलागेको सार्वजनिक गरेकी हुँ’ अभिनेत्री गुरुङले भनिन् । गुरुङले सार्वजनिक गरेको ‘सट लिष्ट’ मा १० वटा कविता छन् । आगामी दिनमा अन्य कविता समेत थपेर पुस्तकमा ल्याउने सोच छ । नर्बेमा बस्दै आएकी अभिनेत्री गुरुङ कविता सार्वजनिकका लागि मात्रै केही दिन अगाडि नेपाल आएकी हुन् ।

‘भोलीका दिन म नरहुँला, समयले नदेला, म मा जोस नहोला, मेरो कविता त्यतिकै थन्किएर बस्ला’, उनले अगाडि थपिन् ‘जे जति कविता तयार भयो । त्यो सुनाउनुपर्छ, देखाउनुपर्छ भनेर नेपाल आएकी हुँ ।’ अगामी दिनमा पनि कविता लेखनलाई निरन्तरता दिने सोच आफ्नो रहेको उनले सुनाइन् । ‘जव मलाई मनले, भोगाइले कविता लेख भन्छ लेख्छु’, गुरुङले थपिन् ‘मैले पहिलो चोटी ‘बोबी’ चलचित्रमा अभिनय गरे । मिडियाका साथीभाइले राम्रोसँग साथ दिनुभयो । गत बर्ष पुस्तक ल्याए । त्यसमा पनि साथ पाए ।’ पटकपटक साथ र सपोट गर्नेसँग भेट्नका कविताको बहानमा नेपाल आएको उनको भनाई थियो । पहिलो पटक कोरेको कविता श्रीमानलाई सुनाउदा राम्रो भनेकोले अन्य कविता पनि आफुले कोरेको कार्यक्रममा उनले बताइन् ।

कार्यक्रममा कविताले ‘नबुझ्दा’, ‘मनमा लागेका सबै कुराहरु’, ‘भेट्नुछ एकचोटी अव फेरि’ शीर्षकका तीन कविता समेत बाचन गरेर सुनाएकी थिइन्। अभिनेत्री गुरुङले गत बर्ष ‘म अनि मेरो’ नामक आत्मकथा पुस्तक ल्याएकी थिइन् । जसमा उनले कलेज लाइफ, उमेश थापासँग प्रेम र अन्तर्जातीय विवाह, माइती पक्षको अवरोध, बुहारी हुँदाको अनुभव र नेपालदेखि नर्वेसम्मको यात्रालाई उतारेकी थिइन् । अहिले सार्वजनिक कविता संग्रहमा पनि जीवनका त्यही कालखण्डका भोगाइ छ ।

कविता र उमेशलेसँग परिवारको सहमतीबीना भागेर अन्तर्जातीय विवाह गरेका थिए । विवाहपछि भागेर नर्बे पुगेका उनीहरुको प्रेमकथामा केही बर्ष अगाडि ‘बोबी’ चलचित्र निर्माण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्