‘पर्खी बसें तिमीलाई’ ट्रेलर: प्रेम, विछोड र वेदनाको कथा


चलचित्र ‘पर्खी बसें तिमीलाई’ ट्रेलर सार्वजनिक गरिएको छ । पुस २७ गते प्रदर्शन तय गरिएको चलचित्र मार्फत अभिनेता किरण श्रेष्ठसँगै अभिनेत्रीद्वय रक्षा बुढाथोकी र अनिशा रसाइलीले डेब्यु गर्दैछन् । राजाराम बुढाथोकीले निर्माण गरेको चलचित्रलाई निर्देशक दीपक श्रेष्ठले निर्देशन गरेका छन्।


‘यो त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र हो । पर्खी बसें झैँ यसमा पनि नयाँ कलाकारलाई लिएर काम गरेको छु । उहाँहरूलाई चलचित्र उद्योगले स्वागत गर्नेमा विश्वस्त छु’, निर्देशक श्रेष्ठले भने ।

उनले २७ औँ चलचित्रको रुपमा ‘पर्खी बसें तिमीलाई’ मार्फत डेब्यु गर्ने कलाकारको भविष्य उज्वल रहेको बताए । सार्वजनिक ट्रेलरमा आकाश (किरण) र आभा (रक्षा) को भेट, बढ्ने सामिप्यता, प्रेम र विछोडलाई देखाईएको छ ।

निर्माता बुढाथोकीले विना सम्झौता चलचित्र तयार गरेको जानकारी दिए । उनले भने,‘यसमा प्रेमसँगै पारिवारिक द्वन्द्वको मिश्रण छ । यो मनोरञ्जनात्मक चलचित्र बनेको छ । स–परिवार हेरेर मनोरञ्जन लिन सक्नु हुनेछ । यसमा अहिलेको पुस्ताको प्रेम कथा देखाईएको छ ।’ रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको चलचित्रमा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।


चलचित्रमा परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्