प्रचारमा व्यस्त ‘पर्खी बसें तिमीलाई’ टीम


पुष २७ गतेबाट रिलिज हुदै गरेको चलचित्र ‘पर्खी बसें तिमीलाई’ को प्रचारमा निर्माण टीम व्यस्त रहेको छ। यहि बीचमा काठमाडौँको नैकापस्थित ब्राइट फ्युचर स्कुलमा चलचित्रको टीम पुगेको छ। यहि स्कुलमा डेब्यु अभिनेत्री रक्षा बुढाथोकीले अध्ययन गरेकी थिइन्। रक्षा आफुले अध्ययन गरेको स्कुलमा अभिनेता किरण श्रेष्ठ, निर्देशक दीपक श्रेष्ठ र निर्माता राजाराम बुढाथोकी सहित पुगेकी थिइन्।

स्कुलका प्रधानाध्यापक मोहन कार्कीले अभिनेत्री बुढाथोकीको बाल्यकाललाई स्मरण गर्दै उनको प्रतिभाको तारिफ गरे । उनले भने,‘उनले (रक्षा) बाल्यकाल देखि नै नृत्य गर्थिन् । उनमा कलाकारिताको स्वभाव देखिएको थियो । अहिले उनको पहिलो चलचित्र प्रदर्शनको तयारीमा छ । त्यसैले हामी विद्यालय परिवारले उनीसहित टिमलाई यहिँ बोलाएर शुभकामना दिएका हौँ ।’

उनले रक्षाको सफलताले उक्त क्षेत्रमा जान चाहने अन्यलाई पनि प्रोत्साहन गर्ने भएकाले स्कुलकै प्राङ्गनमा कार्यक्रम गरिएको जानकारी दिए । स्कुल जीवन सकाएपछि पुनः त्यहाँ पुगेर आफ्नो कलाकारिताको यात्रामा हौसला पाउँदा खुसी लागेको अभिनेत्री बुढाथोकीले बताइन ।

‘यहाँ आएपछि मैले पुराना समय स्मरण गरें । किनकि कलाकारिताको प्रारम्भ यहिँबाट भएको थियो । आज यहिँबाट शुभकामना र आशिर्वाद पाउँदा धनी भएँ’, अभिनेत्री बुढाथोकीले भनिन्,‘पहिलो चलचित्र भएता पनि सक्दो मेहनत गरेकी छु । आज यहाँ पाएको मायाले मेरा जुनियरलाई प्रेरित गर्नुका साथै मलाई समेत हौसला मिलेको छ ।’

सँगै रहेका अभिनेता श्रेष्ठले चलचित्रको चर्चित गीत ‘कालो चस्मा’ मा नृत्य गरेका थिए । ‘हाम्रो चलचित्रमा प्रेम कथासँगै सामाजिक विषय पनि समेटिएको छ । त्यसैले यो स-परिवार सबैले हेर्न पाउनु हुनेछ’, अभिनेता श्रेष्ठले भने ।

यसबाट अभिनेता किरण श्रेष्ठसँगै अभिनेत्रीद्वय रक्षा बुढाथोकी र अनिशा रसाइलीले डेब्यु गर्दैछन् । निर्देशक दीपक श्रेष्ठले ‘पर्खी बसें’ झैँ यसपटक पनि नयाँ अनुहारलाई डेब्यु गराएको जानकारी दिए । ‘यो त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र हो । पर्खी बसें झैँ यसमा पनि नयाँ कलाकारलाई लिएर काम गरेको छु,’ निर्देशक श्रेष्ठले भने ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको चलचित्रमा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्