क्यारेक्टर लुक्समा ‘उपहार’ पोष्टर


फागुन २५ गते रिलिज हुने चलचित्र ‘उपहार’ को चारवटा फस्टलुक पोस्टर सार्वजनिक भएको छ । माघे संक्रान्तिको अवसर पारेर निर्माण टिमले चार वटा पोष्टर सार्वजनिक गरेको हो। भिन्न चार पोष्टरमा कलाकारको क्यारेक्टर लुक्स समेत प्रस्तुत गरिएको छ।

अभिनेत्री रेखा थापा, पुजा शर्मा, बेनिशा हमाल र मुकुन भुषाललाई स्थान दिइएको एक पोष्टरमा चिया घरलाई पृष्ठभूमिमा राखेर बनाइएको छ।
उक्त पोस्टरमा रेखालाई थर्मस र चियाको ग्लास बोकेको देखाइएको छ भने अभिनेता मुकुन भुषाल ह्वीलचेयरमा बसेका छन् । उनलाई रेखाले दुई हातले समाएर माया गरेको देख्न सकिन्छ । अभिनेत्री पुजा खुशी देखिएकी छन् भने बेनिशाले केही भन्न खोजेको देखाइएको छ ।

अर्को फस्टलुक पोस्टरमा अभिनेता तेज गिरी र अभिनेत्री बेनिशालाई बेहुलाबेहुली लुक्समा देखाइएको छ । जहाँ मुकुन र रेखा तथा समर्पण जंग कार्की र पुजा शर्मालाई पनि अँटाइएको छ । यो फस्टलुक पोस्टर रोमान्टिक भाव लक्षित छ ।

त्यस्तै अर्को फस्टलुक पोस्टर उपहार शैलीमा निर्माण गरिएको छ । फस्टलुक पोस्टरमा रिबन बाँधिएको छ । जहाँ मुकुन भुषाल, रेखा थापा, पुजा शर्मा र बेनिशा हमाललाई खुशी भावमा देखाइएको छ ।
चौथो फस्टलुक पोस्टरमा अभिनेता मुकुनलाई ह्वील चेयरमा देखाइँदा रेखा कालो चस्मामा आकर्षक देखिएकी छन् । यो फस्टलुक पोस्टरमा चलचित्रको गीत ‘मुटुको चार आना’मा अभिनय गरेका पुरुष कलाकारहरु निर्मल शर्मा, शिशिर राणा, राजाराम पौडेल र किरण केसी फिचर्ड छन् । त्यस्तै अभिनेत्री पुजालाई हाँसेको र बेनिशालाई मुस्कुराएको भावमा देखाइएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्ममा रेखा थापा प्रस्तुतकर्ता छिन् । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा निर्माण गरिएको चलचित्रमा सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता छन् । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रमा रेखा थापा प्रस्तुतकर्ता र ज्ञानेन्द्र देउजा निर्देशक रहेका छन्।

प्रतिक्रिया दिनुहोस्