उत्साह र कौतुहलता लिएर पांच बर्षपछि दर्शक भेट्ने फर्किएका नाजिर हुसेन


अभिनेता नाजिर हुसेन नेपाली चलचित्र क्षेत्रमा आफ्नो पात्रलाई न्याय गर्न सक्ने अभिनेताको रुपमा परिचित रहेका छन्। थिएटरबाट आफ्नो अभिनय यात्रा सुरुवात गरेका नाजिर ‘पुन्टे परेड’ चलचित्र मार्फत नेपाली ठुलो पर्दामा डेब्यु गरे। छोटो भूमिकामा देखिएका नाजिरको पहिलो पूर्ण चलचित्र डेब्यु भने ‘होस्टेल रिटर्न्स’ चलचित्र मार्फत भयो। यो चलचित्रमा उनले निभाएको भूमिका दर्शकका लागी अहिले पनि यादगार रहेको छ। उनले यहि चलचित्र मार्फत उनले आफूमा राम्रो अभिनेता बन्ने क्षमता कति रहेको छ भन्ने प्रमाणित गरे। जंगे चलचित्रको उनको पात्र पनि सम्झनालायक बनेको थियो। उनले यो बीचमा वीरविक्रम, तिमी संग, गाँठो, राज्जा रानी, गरुण पुराण, कागजपत्र, वीरविक्रम २ लगायत चलचित्रमा अभिनय गरिसकेका छन्। उनको पछिल्लो रिलिज ‘वीरविक्रम २’ रहेको छ।


यो चलचित्र पछि नयाँ चलचित्रमा देखिन उनले झन्डै ५ बर्ष लगाए। बिचमा केहि म्युजिक भिडियोमा देखिए पनि नाजिर उति धेरै पर्दामा देखिएका छैनन्। यो बीचमा उनले दुई चलचित्रको सुटिङ सम्पन्न गरेर रिलिजको पर्खाइमा रहेका छन्। दुवै चलचित्र उनले भिन्न शैलीका रोजेका छन्। ‘गुलाबी(गुन्यो चोली)’ मा उनले एक पारा लैंगिक महिलाको भूमिका निर्वाह गरेका छन्। यो चलचित्रको पोष्टर रिलिज देखि नै चर्चा रहेको छ। यो चलचित्रका लागी उनले १७ केजी तौल घटाएका थिए। यो चलचित्र लगत्तै उनले ‘अगस्त्य’ मा अभिनय गरे। यसका लागी उनले २० केजी तौल बढाए। यो चलचित्रमा उनी फरक फरक गेटअप मा देखिएका छन्। सार्वजनिक टिजर पछि यो चलचित्रको चर्चा झन् चुलिएको छ। फागुन १८ गतेबाट रिलिज हुने चलचित्रलाई लिएर नाजिर उत्साहित रहेका छन्। यहि चलचित्र र ५ बर्षपछि चलचित्रको पर्दामा उनको पुनरागमन लाई लिएर हामीले नाजिरसंग कुराकानी गरेका छौ।

नाजिर आफैमा शान्त र रिजर्भ स्वभावका मान्छे छन्। कुनै पात्रलाई आफै बसेर दर्शक रिझाउने बनाउन मिहेनत गर्छन्। उनि भन्छन्,’यो ५ बर्षमा केहि समय त कोभिडको कारण थलियो। अनि मैले अभिनय गरेका दुवै चलचित्रका पात्रका लागी मैले बढी मिहेनत गर्नु पर्ने थियो। गुलाबीका लागी १७ केजी घटाए र अगस्त्यका लागी २० केजी बढाए। यो बीच मैले तौलको लागी पनि धेरै मिहेनत गर्नु पर्यो। ३ बर्षमा २ वटा चलचित्रको सुटिङ सम्पन्न गरे। पात्रका लागी एक्सरसाइज त्यहि अनुसारको थियो र समय लाग्यो। ‘

अगस्त्यमा उनले एक्सन भूमिका निर्वाह गरेका छन्। अझ भनौ उनको करियरमा यो पहिलो एक्सन ड्रामा हो। यसकारण पनि चलचित्रलाई लिएर नाजिर उत्साहित रहेका छन्। नाजिर भन्छन् , ‘पहिलोपटक एक्सन ड्रामा गर्ने अवसर मिल्यो। पांच बर्षपछि दर्शकलाई हलमा भेट्न आउदैछु। यहि कारण पनि उत्साहित रहेको छु। झन् टिमको मिहेनत ले चलचित्र राम्रो बनेकोमा ढुक्क छु। डविङ्गमा सरसर्ती हेर्दा नै चलचित्रलाई लिएर झन् विस्वास बढेको छ। ‘

‘पहिलो चलचित्र रिलिज भैरहेको जस्तो लागेको छ। उत्साह र नर्भस त्यहि समयको जस्तो छ अनि रमाइलो पनि लागि रहेको छ’, नाजिर भन्छन्। एक्सन जनरामा यो चलचित्र रोड म्याप सेट गर्ने चलचित्र बन्नेमा नाजिर आशावादी रहेका छन्।

पांच बर्षपछि प्रेसमिटमा आउँदा कस्तो लाग्यो त?
म त पुरै नर्भस भएछु। के बोल्ने कता हेर्ने के गर्ने थोरै अतालिएछु। तर धेरै चै उत्साहित नै थिए।

प्रतिक्रिया दिनुहोस्