‘हात्तीछाप’ प्रिमियरमा कसले के भने ?


माघको २६ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘हात्तीछाप’को मंगलबार बेलुकी प्रिमियर गरिएको छ । प्रिमियरमा चलचित्रकर्मी, पत्रकार र चलचित्रका कलाकारहरुको उपस्थिती थियो ।

सिमोस सुनवारको निर्देशनमा प्रदीप भारद्धाजको कथा रहेको यो चलचित्र हेरेपछि निर्देशक ज्ञानेन्द्र देउजाले प्रशंसा गरे । उनले, चलचित्रले नेपालको एक ऐतिहासिक घटनालाई २ घन्टामा समेटेको देखेर आफूलाई आश्चर्य लागेको बताए ।

चलचित्र हेर्न पुगेका निर्देशक शोभित बस्नेत, निर्देशक कृषा चौलागाई , नायिका रिस्ता बस्नेतले पनि यसको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयको प्रशंसा गरे ।

चलचित्र हेरेपछि नायिका बेनिशा हमाल उत्साहित देखिइन् । चलचित्रमा सरप्राइज भूमिकामा देखिएकी बेनिशाले दर्शकलाई यसको कथावस्तु मनपर्ने दाबी गरिन् । अर्की नायिका उपासना सिंह ठकुरीले पनि चलचित्र राम्रो बनेकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् ।

चलचित्र ‘हात्तीछाप’मा ‘बोत्तल राजा’को भूमिकामा देखिएका नायक सौगात मल्लले दर्शकले फिल्मलाई मन पराउने विश्वास व्यक्त गरे ।

चलचित्रले विशेषगरि, दयाहाङ राई र सौगात मल्लको आ–आफ्नो कथालाई भनेको छ । तर, यी दुइको कथाको मेल कहाँबाट कसरी हुन्छ, यसका लागि दर्शकले चलचित्र हेर्नुपर्ने हुन्छ ।

किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा बिजय बराल, विल्सन विक्रम राई, पुष्कर गुरुङ, रेअर राई, सुष्मा निरौला, वुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय छ । यो चलचित्रको अधिकांश हलमा बुकिङ समेत खुलिसकेको छ । चलचित्रलाई अधिकांश हलले सुखद शोज दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्