‘काँडेतार’ प्रिमियर मा कसले के भने ?


राष्ट्रवादी धारमा निर्माण गरिएको चलचित्र ‘काँडेतार’को मंगलबार बेलुकी प्रिमियर गरिएको छ । शुक्रबारदेखि रिलिजमा आउन लागेको चलचित्रको प्रिमियरमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पुगेका थिए । यस्तै, चलचित्र हेर्न विभिन्न दलका नेतादेखि फिल्मीकर्मीहरु हलमा पुगेका थिए ।

नवल खड्काको निर्देशनमा तयार भएको यो चलचित्रले नेपाल र भारतको सम्बन्धको कथा भन्छ । साथै, नेपालको सीमा स्तम्भमाथि भारतले बारम्बार गर्ने खेलबाडको कथालाई यो चलचित्रले प्रस्तुत गरेको छ । नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मुख्य थिममा रहेको चलचित्र हेरेपछि अधिकांशले राष्ट्रियताको विषयलाई गम्भीर रुपमा उठान गरिएको भन्दै प्रशंसा गरेका थिए ।

चलचित्र हेरेपछि नेता खनालले भने–‘यस्तो फिल्म अहिले ३ करोड नेपाली जनतालाई चाहिएको छ । म नेपाली राजनीतिमा लागेदेखि नै नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मान्यता राख्छु । यसैले, मलाई प्रधानमन्त्री पदमा बस्न दिएनन् । यो चलचित्र ३ करोड नेपालीले हेर्नुपर्छ ।’

चलचित्रका निर्देशक तथा कलाकार नवल खड्काले पनि आम नेपालीहरूको भावनालाई समेटेर यो चलचित्र तयार पारिएको बताए ।

चलचित्रमा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय गरेका छन् ।

सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको चलचित्रको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् । मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायांकन सौरभ लामाले गरेका हुन् । चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । चलचित्रलाई बन्देप्रसाद र तारा थापा ’किम्भे’ ले सम्पादन गरेका छन् । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको चलचित्रकी कार्यकारी निर्माता सत्यकला राई हुन् ।

प्रतिक्रिया दिनुहोस्