‘महाजात्रा’ को बम्पर ओपनिङ्ग, पूर्व रानीको आयो यस्तो प्रतिक्रिया


प्रदिप भट्टराईको निर्देशनमा तयार भएको चलचित्र ‘महाजात्रा’ ले शुक्रबार बम्पर व्यापार गरेको छ। चलचित्रले १ करोड २३ लाख बराबरको ओपनिङ्ग व्यापार गरेको आंकडा सार्वजनिक भएको छ। षट्कोण आर्ट्सले निर्माण गरेको चलचित्रलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन्।


नेपाल संगै विश्वभर एकसाथ प्रदर्शन भैरहेको चलचित्रलाई विदेशमा पनि दर्शकको साथ उच्च रहेको छ। प्रदर्शनको पहिलो दिन नेपालका अधिकाँस शो हाउसफुल भएका छन् भने विदेशमा पनि सोही अवस्था छ । अष्ट्रेलियाको सिड्नी, होवर्ट लगायतका केही सहरमा ‘सोल्ड आउट’ भएको छ। शुक्रबार काठमाडौँको विभिन्न स्थानमा चलचित्रको टिम दर्शक भेट्न पुग्दा उत्साहजनक माहोल रहेको थियो। पूर्व रानी कोमल राज्य लक्ष्मी देवी शाहले पनि चलचित्र हेरेर प्रसंसा गरेकी छिन्। शुक्रबार बेलुकी काठमाडौँस्थित सिभिल मलमा हिमानी ट्रष्टद्वारा आयोजित शोमा सहभागी भएपछी रानी कोमलले भनिन्,’चलचित्र रमाइलो बनेको छ । एकदम मनपर्यो । हामी सबैले रमाइलो गर्यौ ।’

शुक्रबार हलमा चलचित्र हेरिरहेका दर्शकसँग साक्षात्कार गर्न निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत लगायत पुगेका थिए । दर्शकले दिएको प्रतिक्रियाले आफूहरूको मेहनत सफल भएको अभिनेता आचार्यले बताए । ‘हामी शनिवार पनि दर्शकसँग भेटिरहेका छौँ । प्रिमियर झैँ प्रतिक्रिया प्राप्त भईरहेका छन् । मनोरञ्जनसँगै हामीले दिएको संदेशलाई दर्शकले ग्रहण गर्नुभएको छ । हामी कृतज्ञ छौँ’, अभिनेता आचार्यले भने ।

अभिनेता विपिन कार्कीले दर्शकले चलचित्रका पात्रको सुखदुःखलाई पर्दा बाहिर पनि महसुश गरेको बताए । उनले भने,‘मसँगै जोएश र मुन्नाको सुख दुःखमा दर्शक पनि उस्तै भावमा पाएँ । पात्रसँग दर्शकलाई जोड्न सक्नु हाम्रो सफलता हो । मलाई मुख्य अभिनेता बनाउने जात्रा शृङ्खला मेरा लागि सधैँ खास छ । यो चलचित्र हेर्दा समय र पैसाको सदुपयोग हुन्छ भन्नेमा विश्वस्त हुन् दर्शकलाई आग्रह गर्दछु’, अभिनेता कार्कीले भने ।

चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल चलचित्रको निर्माताको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्