गोलरक्षक एन्जिलाको कथामा ‘अन्जिला’ बन्ने, दयाहाङदेखि सृजनासम्म


महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर चलचित्र ‘अन्जिला’ निर्माण हुने भएको छ । मिलन चाम्सको निर्देशनमा बन्न लागेको चलचित्रमा एन्जिलाको मुख्य भूमिका रहनेछ । उनीसँगै चलचित्रमा दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेम कुमार श्रेष्ठ लगायतको पनि अभिनय रहनेछ।

एन्जिलाले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई चलचित्रमा जोड दिइने निर्देशक चाम्सले जानकारी दिए । उनले चलचित्रको घोषणा सभामा भने, ‘एन्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथालाई चलचित्रमा देखाउने छौं । सफल खेलाडी बन्नु अगाडि एन्जिलाले गरेका दुःखहरु धेरै छन्, त्यसलाई विशेष जोड दिनेछौं ।

त्यस्तै, अभिनेता दयाहाङ राईले पहिलो पटक आफूले खेलाडीको बायोपिकमा काम गर्न लागेकोमा खुसी व्यक्त गरे । उनले भनेका छन्, ‘कलाकार भएको हिसाबले खेलकुदलाई नजिकबाट हेरिरहेको हुन्छु । तर, खेलाडीको जीवनबारे भने कमै जानकारी हुन्छ । ‘अन्जिला’बाट खेलकुदलाई अझ नजिकबाट निहाल्ने मौका पाएको छु ।’

चलचित्रको घोषणा सभामा प्रमुख अतिथीको रुपमा उपस्थित भएका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले फिल्म र खेलकुद देशको पहिचानसँग जोडिएकाले यी दुवै क्षेत्र एकसाथ अगाडि बढ्नु पर्ने धारणा गरे । एन्जिलाको जीवनीमा बन्न लागेको चलचित्रले खेल क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने धेरैका लागि प्रेरणा बन्ने मन्त्री गहतराजको विश्वास छ । उनले भविष्यमा अरु पनि खेलाडीको जीवनीमा चलचित्र बनाउन आग्रह गरेका छन् । केन्द्र मोशन पिक्चर र मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको चलचित्रमा प्रेम कुमार श्रेष्ठ र केन्द्र लिम्बु निर्मातामा छन् । यम थापाको कथा रहेको चलचित्रलाई सुदीप बरालले खिच्नेछन् ।

प्रतिक्रिया दिनुहोस्