चलचित्रमा अनमोलको १० बर्षे यात्रा: सफलताको स्वाद देखि असफलताको झड्कासम्म


चकलेटी नायकको रुपमा अनमोल केसीले आफुलाई स्थापित गरिसकेका छन् । लभस्टोरी चलचित्रमा बलियो उपस्थिति जनाएका अनमोलले युवापुस्तामा लोभलाग्दो क्रेज बनाए। होस्टेल चलचित्रबाट २०१३ मा उनले नेपाली चलचित्र क्षेत्रमा डेव्यु गरे। त्यो समय युवापुस्ताले रुचाएको लुक्स उनमा थियो। पहिलो चलचित्रबाट नै उनले सोचे भन्दा बढी फ्यान फलोअर्स कमाए। आफ्नो क्रेज बढाए र नयाँ पुस्तालाई चलचित्र हलसम्म डोहोर्याए। २०१४ मा रिलिज भएको ‘जेरी’ चलचित्रले उनको स्टारडम बढायो र निर्माताको पहिलो रोजाईको अभिनेता उनलाई बनायो। त्यो पछि उनि अभिनित चलचित्र ‘ड्रिम्स’ र ‘गाजलु’ २०१६ मा रिलिज भए। दुवै चलचित्रले दर्शकको साथ पाए र अनमोल स्टारको रुपमा स्थापित भए।

२०१८ र २०१९ मा उनि अभिनित ‘कृ’ र ‘क्याप्टेन’ रिलिज भए । दुवै चलचित्र बक्स अफिसमा औषत बने। लभ स्टोरीमा स्थापित भएका अनमोलले केहि भिन्न चलचित्रको कोसिस गरे। यसमा उनले सोच जस्तो सफलता हासिल गर्न भने सकेनन् । २०१९ मा उनि लभ स्टोरी चलचित्रमा नै फर्किए। ‘ए मेरो हजुर ३’ सुपरहिट बन्यो। अनमोलले दर्शकको साथ लभ स्टोरी चलचित्रमा पाउने पुन एकपटक प्रमाणित भयो। कोरोना कहारपछि उनि अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ रिलिज भयो।

लभस्टोरी चलचित्रले दर्शकको साथ बटुल्यो। यो लगत्तै उनले चलचित्र ‘छड्के २’ मा अभिनय गरे। ग्याङ्गस्टार जनराको चलचित्र बक्स अफिसमा डिजास्टर बन्यो। उनको करियरको सर्वाधिक असफल चलचित्र बन्यो। यसले अनमोललाई ठुलो झड्का दियो। उनले यो पछि नयाँ चलचित्रमा अभिनय गर्न लामो समय लगाए। सुदर्शन थापाको निर्देशनमा तयार हुने चलचित्र ‘रावयण’ मा उनले काम गर्ने पक्का भयो। उनले चलचित्र पछि छाडे। यसले उनलाई प्रहरीको हिरासत सम्म पुर्यायो। यो उनको करियरको सबैभन्दा नमिठो अनुभव रह्यो।


यतिबेला अनमोल आफ्नो १० औ चलचित्र लिएर जेठ १० मा आउने तयारीमा रहेका छन्। ‘फर्की फर्की’ चलचित्रलाई उनले आफ्नो करियरको नयाँ यात्राको रुपमा परिभाषित गर्दै आएका छन्। चलचित्रको ट्रेलर, लुक्सले दर्शकको मन जितिरहेको छ । अनमोलले आफ्नो १० बर्षको यो करियरलाई सम्झदै साथ दिने सबै प्रति आभार प्रकट गरेका छन् ।


सुपरस्टार अभिनेता भुवन केसीका छोरा भएको हिसाबले चलचित्रको उनको प्रवेश सजिलो रह्यो। तर यो क्षेत्रमा टिकीरहन भने आफ्नो स्टारडम आफै बनाउनुपर्छ भने उदाहरण हुन् अनमोल। अन्य स्टारकिड नेपाली चलचित्र क्षेत्रमा आउने र जाने क्रम रहिरहेको छ। केहि मात्रले यो क्षेत्रमा सफलता हासिल गरेका छन्। त्यसको पहिलो नम्बरमा अनमोल रहेका छन्। भुवन केसीका छोरा हुनुको कारण नै उनि नकारात्मक प्रतिक्रियाको शिकार हुने गर्दछन् । उनको अभिनय दर्शक र समिक्षकले खोजेको जति नहुन सक्छ । तर स्टार भ्यालुमा भने उनले आफुलाई अब्बल सावित गरेका छन्।


यो १० बर्षको यात्रामा अनमोलले आफुलाई जुन रुपमा स्थापित गरेका छन् त्यो भने लोभलाग्दो रहेको छ । अहिले दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की जस्तो जिवन्त अभिनय गर्ने कलाकारका चलचित्रले बजार पिटिरहेको छ। मौलिक कथामा चलचित्र दर्शकले रुचाईरहेका छन्। मसालेदार चलचित्र भन्दा लोकल स्वाद दर्शकले रुचाइरहेका छन्। यो बीचमा अनमोलले आफुलाई अब्बल प्रमाणित गर्न आवश्यक रहेको छ। यो यात्रा र प्रतिष्पर्धा कस्तो रहने हो त्यो अबको उनको करियर ग्राफले बताउनेछ ।

प्रतिक्रिया दिनुहोस्