‘ए मेरो हजुर ५’ मा अनमोल र सुहानाको जोडी
अभिनेता अनमोल केसीले नेपाली चलचित्र क्षेत्रमा आफ्नो सक्रियतालाई बढाएका छन्। आफ्नो अभिनय करियरको १० बर्ष बितेपछि अनमोलले चलचित्र ‘फर्की फर्की’ मा अभिनय गरेका थिए। महँगो लगानीमा बनेको चलचित्रले चर्चा र उनको स्टारडम दुवै फर्कायो। यो बर्ष अनमोल एकपछि अर्को चलचित्रमा व्यस्त बनेका छन्। गीत बाहेक ‘जेरी अन टप’ को छायांकन सकेका अनमोल चलचित्र ‘बाटुलो जुन’ मा अभिनय गर्ने तयारी गरेका छन्। जिया केसीको लगानीमा चलचित्रलाई भुवन केसीले निर्देशन गर्दैछन् भने प्रिन्सी खतिवडा उनको जोडीको रुपमा देखिदैछिन्।

उनै अनमोलले नयाँ चलचित्रमा काम गर्ने सम्झौता गरेका छन्। झरना थापाको निर्देशन र सुनिल कुमार थापाको निर्माणमा तयार हुने चलचित्र ‘ए मेरो हजुर ५’ मा अनमोलले काम गर्ने पक्का भएको हो। अनमोल र सुनिलले सोमबार कागजी सम्झौता गरेका छन्। झरना र सुनिल केहि समयबाट यो चलचित्रको तयारी गरिरहेका छन्। अन्य केहि नायकको चर्चा चले पनि अन्तत: दर्शकले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४ ‘ को जोडीलाई नै ५ मा पनि देख्ने भएका छन्। यो चलचित्रमा उनको जोडीको रुपमा सुहाना थापा रहनेछिन्। अनमोलले आफ्नो सामाजिक संजालबाट पनि यो कुराको जानकारी गराएका छन्।

उनले लेखेका छन् ,’लामो समयको बिश्राम पश्चात एउटा नयाँ अध्यायको सुरुवात गर्दैछु । ” जेरी अन टप” , “बाटुलो जुन” र “ए मेरो हजुर – ५” मार्फत नेपाली चलचित्र उधोगमा नयाँ जोशका साथ हजुरहरु माझ उपस्थित हुन लागेको यो खुशीको कुरा सुनाउन पाउँदा म निकै उत्साहित र हर्षित छु । आज सम्मको मेरो यस नेपाली चलचित्र उधोगमा साथ, सहयोग, सुभेच्छा र माया , हौसला र प्रेरणा प्रदान गर्नुृहुने मेरो निर्माता, निर्देशक, सहकर्मी मित्रहरु, टेक्निसियन, मिडिया तथा आदरणीय भगवानरुपी दर्शकहरु प्रति म कृतज्ञ छु । ‘
निर्देशक झरना थापाले पनि आफ्नो सामाजिक संजालमा यो कुरा उल्लेख गरेकी छिन्। उनी लेख्छिन्, ‘मेघास्टार अनमोल केसी भाईलाई ए मेरो हजुर-५´ मा स्वागत छ ।
ए मेरो हजुर-३´ र ए मेरो हजुर-४´ पछि हामी तेश्रोपटक सहकार्य गर्दैछौ । यो सहकार्यले भविष्यमा पनि निरन्तरता पाउने बिश्वास ब्यक्त गर्दै
ए मेरो हजुर-५´ लाई सर्वोत्कृष्ट बनाउन कुनै प्रयास बाँकी राख्ने छैनौं भन्ने प्रण गर्दछु । हामीलाई साथ,समर्थन,माया र आशीर्वाद दिनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीमा हार्दिक आभार ब्यक्त गर्दछु ।’
असोजबाट छायांकनको तयारी रहेको छ। यो चलचित्र अगाडी अनमोलले ‘बाटुलो जुन’ र सुहानाले ‘परालको आगो’को छायांकन सक्नेछन् । अनमोल र सुहानाको जोडीलाई लिएर दुवैका फ्यान उत्साहित देखिएका छन्।