‘माइतिघर’ को अष्ट्रेलिया राइट्स बिक्री
दशैंको फूलपातिबाट रिलिज तयारीमा रहेको चलचित्र ‘माइतिघर’ कलाकारको लाइनअपका कारण अनि चर्चामा रहेको छ। केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी लगायतका कलाकारको अभिनय रहेको चलचित्रको अन्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्रि शुरु भएको छ । रोहित अधिकारीको निर्माणमा तयार भएको चलचित्रको अष्ट्रेलिया राइट्स बिक्रि भएको निर्माण टिमले जानकारी दिएको छ।

महँगो रकममा बिक्रि भएको भनिए पनि कति रकममा बिक्रि भएको भन्ने खुलाइएको छैन । मिलन तामाङ्गको निर्देशनमा तयार भैरहेको चलचित्रको अस्ट्रेलिया रिलिज अधिकार हिमारो इन्टरटेन्मेन्टका लागि प्रमेज धामि र प्रकाश गैरेले खरिद गरेका हुन्।
निर्माता अधिकारीका अनुसार, चलचित्रलाई अन्य देशहरुमा पनि बिक्रि गर्ने कुरा भइरहेको छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्रमा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ भने कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् । चलचित्रमा श्यामश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।