‘गुन्यु चोलो’ मा मान्छेको चिनारी खोज्दै नाजिर हुसेन
चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ को थिम सङ सार्वजनिक भएको छ । चलचित्रको कथा समेट्ने गीतमा लेखु सहयात्रीको रचना, समुन्द्र भट्ट र रेखा पन्तको शब्द, केतन क्षेत्रको स्वर रहेको छ भने बिशम आचार्यले पनि साथ दिएका छन् । गीतले लैंगिक पहिचानकै कारण मान्छेको दर्जा नपाउने गरेको कारुणिक यथार्थ समेटेको छ । तेस्रो लिंगीलाई मान्छेको रूपमा स्वीकार नगर्ने समाजको चित्रण गीतमा छ ।

एउटै आमाको कोखबाट जन्मिएको सन्तान तेस्रोलिंगी भएको थाहा पाएपछि फरक ग्रहबाट आएको झैँ गर्ने चलन रहेको समाजबारे उल्लेख गरिएको गीतमा तेस्रोलिंगीले मानवको रूपमा व्यवाहार गरिदिन गरेको संघर्ष छ ।
लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा समुन्द्र भट्टको निर्देशनमा तयार भएको चलचित्र भदौ १३ गतेबाट रिलिज हुँदैछ।
नाजिर हुसेनको मुख्य भूमिका रहेको चलचित्रमा उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् ।नाजिरसँगै चलचित्रमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ ।
चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको छ । चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन् । हलिउड चलचित्र ‘ग्ल्याडिएटर– २’ मा लिजाले स्वर दिएकी थिइन् ।
यो चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो । चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन् ।