सुगम पोख्रेलको ‘जय जय शङ्कर’ गीत सार्वजनिक


गायक सुगम पोखरेलको स्वरमा भगवान् महादेवप्रति समर्पित भक्ति गीत ‘जय जय शङ्कर’ सार्वजनिक गरिएको छ। यो गीतको लोकार्पण नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा र कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा गरिएको थियो। डिजिसेन्स नेपाल प्रा. लि.ले निर्माण गरेको यो गीतमा स्वर्गीय नातिकाजीको सङ्गीत रहेको छ भने मोहित मुनालले पुनः संयोजन तथा नयाँ सङ्गीत संयोजन गरेका छन्। गीतमा थप शब्द विजय अधिकारीले दिएका छन्।

गीतको भिडियो हुम्ला जिल्लाको लिमी उपत्यकाको लाप्चामा ५१०० मिटरको उचाइमा खिचिएको हो। यस स्थानबाट प्रत्यक्ष रूपमा कैलाश पर्वत र मानसरोवर ताल देखिने भएकाले यो धार्मिक, सांस्कृतिक र पर्यटन दृष्टिले प्रचुर सम्भावना बोकेको छ। निर्माण पक्षले संसारमै पहिलो पटक यस दुर्गम क्षेत्रमा म्युजिक भिडियो खिचिएको दाबी गरेको छ।

भिडियोमा कलाकार बद्रीप्रसाद तिवारीको एकल अभिनय रहेको छ भने निर्देशन विजय अधिकारीले गरेका छन्। किरण थापाले कोरियोग्राफी गरेका छन्। हरि हुमागाईँको छायाङ्कन निर्देशन तथा भरत रेग्मीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्