धिरज, मिरुना र दियाको त्रिकोणात्मक प्रेमकथा ‘मैझारो’ टिजर
कार्तिक ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मैझारो’को टिजर रिलिज भएको छ। निर्माण पक्षले सोमबार बडादसैंको घटस्थापनाको दिन पारेर १ मिनेट ५८ सेकेण्डको टिजर रिलिज गरेको हो। सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार धिरज मगर,मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेम देख्न सकिन्छ। इलामका सुन्दर दृश्यमा गाउँले परिवेशमा अभिनेता धिरजलाई देखाईएको छ भने चिया बगानमा चिया टिप्न डोको बोकेकी मिरुना मगरलाई डोको बोकेको देख्न सकिन्छ।

धिरज र मिरुनाको प्रेम टिजरमा देख्न सकिन्छ र संगै धिरज दिया पुनसँग नजिकिएको दृश्य टिजरमा देखाइएको छ। चलचित्रमा समावेश एक मोनोलग सुन्दर सुनिएको छ। विल्सन विक्रम राई तक्मे बुढाको पहिलो निर्देशनमा तयार भएको चलचित्रको टिजरलाई मौलिक प्रेमकथामा तयार पारिएको छ।
त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रमा धिरज,मिरुना र दियाका साथमा दयाहाङ राई,बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ। राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको स्वर चलचित्रमा सुन्न पाइनेछ। सौरभ लामाले चलचित्रको छायांकन गरेका छन्।