‘परान’ को पोएटिक टिजर रिलिज, छोराबाट कस्तो आश राख्छन् बाबुले ?


कार्तिक १४ गते रिलिज हुने चलचित्र ‘परान’ ले पोएटिक टिजर सार्वजनिक गरेको छ । वरिष्ठ अभिनेता निर शाहको आज परेको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा कवि नवराज पराजुलीको शब्द उनकै आवाजमा प्रस्तुत गरिएको छ।
कवि पराजुलीका शब्दहरूमा चलचित्रका मुख्य कलाकार निर शाहको मनोभावनालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ। सार्वजनिक टिजरमा कविताका माध्यमबाट जीवनको उत्तरार्धमा रहेका एक बाबुले छोरासँग जीवनको अन्त्यसम्म साथ पाइयोस् भन्ने आशा व्यक्त भएको सुन्न सकिन्छ।

कवितामा छोरालाई ईश्वरले दिएको उपहार मान्दै छोरालाई जसरी हुर्काइयो बढाइयो एउटा बाबुलाई पनि छोराले जीवनको अन्तिम समयसम्म सोही प्रकारले साथ दिनुपर्ने कुरा व्यक्त भएको छ । टिजरमा शब्दहरू चलचित्रका प्रमुख कलाकार निर शाह मार्फत व्यक्त गर्दै मुख्य रुपमा फिल्माइएको छ।

उनीसँगै त्यहाँ मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, बुद्धि तामाङ, प्रवीण खतिवडा, पूजा चन्द तथा अन्जना बराइली लगायतका कलाकारहरुलाई पनि प्रस्तुत गरिएको छ । यो पोएटिक टिजरले दर्शकहरूलाई चलचित्रको विषयवस्तुका बारेमा समेत जानकारी दिएको छ। टिजरले चलचित्रमा बाबु छोराको सम्बन्ध र त्यसको सामाजिक हैसियत तथा स्थिति परिस्थितिले उत्पन्न हुने ती सम्बन्धका उकाली ओरालीको कथा पेश गर्ने देखाएको छ ।

दीपकप्रसाद आचार्य (काकु) निर्देशित चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय छ। आचार्यको यो डेब्यु निर्देशन हो। देशकै प्रतिष्ठित व्यवसायीक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले चलचित्र निर्माण गरेको हो।

प्रतिक्रिया दिनुहोस्