‘माइतिघर’ निर्देशकले ‘कहाँ भेटिएला’ बनाउने, प्रमुख भूमिकामा धिरज र केदार !
हलमा प्रदर्शनरत चलचित्र ‘माइतीघर’ का निर्देशक मिलन तामाङ्गले नयाँ चलचित्रको घोषणा गरेका छन्। उनले निर्देशन गर्ने नयाँ चलचित्रको नाम ‘कहाँ भेटिएला’ राखिएको छ । यो शिर्षकमा यस अगाडी शिव रेग्मीले स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठलाई मुख्य भूमिकामा लिएर चलचित्र निर्माण गरेका थिए। झन्डै १६ बर्षपछि यहि शिर्षकमा मिलनले चलचित्र निर्माण गर्ने भएका हुन्।

निर्माण टिमले एक पोष्टर सार्वजनिक गर्दै चलचित्रको घोषणा गरेको हो। पोष्टरमा एक युवतीलाई कसैलाई पर्खिरहेको रुपमा प्रस्तुत गरिएको छ। यसले चलचित्र प्रेम र पर्खाईको कथामा बन्ने संकेत गर्दछ। आगामी चैत २० गतेबाट सुरू गरेर जेठ अन्त्यसम्म चलचित्र छायांकन सम्पन्न गर्ने लक्ष्य राखिएको छ। चलचित्रका कलाकारको बारेमा अहिले कुनै जानकारी गराइएको छैन। तर चलचित्रको प्रमुख भूमिकामा केदार घिमिरे र धिरज मगर रहने चर्चा रहेको छ। चलचित्र विकास बोर्डमा दर्ता गर्दा केदार र धिरजको साथमा बुद्धि तामाङ, श्यामाश्री शेर्पा लगायतको नाम राखिएको छ ।