दशैँमा रिलिज तीन चलचित्रको कस्तो छ अहिलेसम्मको कलेक्सन ?
असोज १३ गतेबाट रिलिज भएका तीन चलचित्र ‘बलिदान’ , ‘हरिबहादुरको जुत्ता’ र ‘माइतिघर’ तीनै चलचित्रले बक्स अफिसमा अपेक्षाकृत कमाई गर्न नसकेको प्रस्ट छ। अघिल्लो बर्षको दशैँको तुलनामा एक तिहाइ कमाई पनि तीन चलचित्रले गर्न सकेका छैनन्। बिशेष गरि चलचित्रले बलिदानले बक्स अफिसमा तहल्का पिट्ने अनुमान सहित प्रदर्शकले २४४ शो सहित प्रदर्शन सुरुवात गरेका थिए। शो संख्याको हिसाबले माइतिघर र हरिबहादुरको जुत्तालाई क्रमश १४४ र १३४ शो दिईएको थियो। दशैँको टिकाका दिनबाट चलचित्र कान्तार प्रदर्शनमा आएपछि नेपाली चलचित्रको शो उल्लेख्य संख्यामा घटेको थियो।

कस्तो छ त अहिलेसम्म तीन नेपाली चलचित्रको बक्स अफिस कलेक्शन?
तीनै चलचित्रको निर्माण टिमले आधिकारिक रुपमा आफ्नो कलेक्सन सार्वजनिक गरेका छैनन्। तर देशभरका अधिकांश चलचित्र हल चलचित्र विकास बोर्ड अन्तर्गतको बक्स अफिस कलेक्सनमा जोडिएको कारण चलचित्रको कलेक्सन पत्ता लगाउन सहज स्थिति रहेको छ।

सन्तोष शेन निर्मित र निर्देशित चलचित्र ‘बलिदान’ ले हिजोसम्म ४ करोड ९४ लाख ४ हजार ५०९ ग्रस कलेक्सन गरेको छ। १,६४, ७९४ टिकट यो बिचमा चलचित्रको बिक्रि भएका छन्। बक्स अफिसमा ५ करोड नजिकको यात्रामा चलचित्र रहेको छ। समिर भट्ट, सौगात मल्ल, ऋचा शर्मा लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ।
दिपेन्द्र के खनाल निर्देशित चलचित्रले हिजोसम्म ४ करोड ५३ लाख ४८ हजार ४८६ ग्रस कलेक्सन गरेको छ। १,४३, ८०७ टिकट चलचित्रको बिक्रि भएको आंकडा बक्स अफिसमा रहेको छ। हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खडका, प्रियंका कार्की लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ। सरोज ओली र मोहितवंश आचार्य ले चलचित्र निर्माण गरेका हुन्।
मिलन तामाङ्गको निर्देशन र रोहित अधिकारीको प्रस्तुतीमा तयार भएको चलचित्र ‘माइतिघर’ ले ३ करोड ८० लाख २१ हजार ४३६ ग्रस कलेक्सन गरेको छ। १,३१,४९३ टिकट चलचित्रको बिक्रि भएका छन्। केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ।