धिरज र उपासनाको ‘जलाकी’ मङ्सिरमा रिलिज तय


अशोक थापा मगरको निर्देशनमा तयार भएको चलचित्र ‘जलाकी’ मङ्सिर ४ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले आज दुई पोष्टर सार्वजनिक गर्दै मङ्सिर ४ लाई रिलिज मिति तय गरेको हो। सार्वजनिक पोष्टरमा चलचित्रका दुई प्रमुख कलाकार उपासना सिंह ठकुरी र सोनाम तोप्देनलाई प्रस्तुत गरिएको छ। ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले पोष्टर तयार पारेका हुन्। पोष्टरमा दुवैको प्रेम र मनोभावनालाई प्रस्तुत गरिएको छ। ‘खुस्मा’ सफलता पछि अशोकको यो दोश्रो निर्देशकीय चलचित्र हो। अशोक र उपासनाले सोहि चलचित्रमा सहकार्य गरेका थिए।

पहिलो पोस्टरमा सोनम र उपासना रोमान्टिक र खुसीको क्षणमा प्रस्तुत भएका छन् । एकअर्काप्रतिको आत्मीयता, प्रेम र विश्वासलाई केन्द्रमा राखिएको यो पोस्टरले चलचित्रको प्रेम पक्षलाई चित्रण गरेको छ । त्यसैगरी दोस्रो पोस्टरमा उनीहरू गम्भीर तथा भावुक मुद्रामा देखिएका छन् । पोस्टरमा दुवै पात्रबीचको मौनता, पीडा र भावनात्मक संघर्ष झल्किएको छ ।

‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो । निर्देशक मगरले यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावना समेटिएको कथा चलचित्र प्रस्तुत गरिएको बताए ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सोनम र उपासनासहित शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् । चलचित्रबाट मिस सिक्किमकी साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् ।

चलचित्रका निर्मातामा ओम घर्ति मगर, बीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्