शोभित बस्नेतको ‘पिआर’ छायांकन धम्पूसबाट सुरु


शोभित बस्नेतको निर्देशनमा बनिरहेको चलचित्र ‘पीआर’ को दोस्रो चरणको छायांकन कास्की जिल्लाको धम्पुसबाट सुरु भएको छ । अस्ट्रेलियामा ६० प्रतिशत छायांकन गरिएको चलचित्रको सोमबार धम्पुसमा बिहेको दृश्य खिचिएको छ । सार्वजनिक एक तस्वीरमा अभिनेता दिक्पाल कार्की र अभिनेत्री विनिता कार्कीलाई दुलाहा-दुहलीको पहिरनमा प्रस्तुत गरिएको छ।

धम्पुसपछि पोखरा, चितवन र काठमाडौंमा छायांकन हुने चलचित्रमा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी, आर ए सुरज पौडेल, राजन कुँवर, पूजा चौधरी, विमला खत्री, आश्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, म्याक्स लगायतको अभिनय छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भइरहेको चलचित्रमा ए वान ग्रुप सर्भिस (अष्ट्रेलिया) का प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्मातामा रहेका छन् । यसमा मानस राज र भिम बिसीको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन, निर्देशक बस्नेतकै कथा तथा गणेश बुढाथोकीको पटकथा र संवाद छ ।

अस्ट्रेलियामा सौरभ मानन्धरले खिचेको चलचित्रलाई नेपालमा सौरभ लामाले छायांकन गरिरहेका छन् । अष्ट्रेलियाको पीआर पाउन नेपाली युवाले गरेको संघर्षको कथालाई चलचित्रमा प्रस्तुत गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्