‘सोल्टिनी’ को मारुनी गीत ‘सत्य जुगैको’ मा प्रकाश र परिक्षा


संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘सोल्टिनी’को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक भएको छ ।पूर्वेली मारुनी भाकामा आधारित गीतमा प्रशान्त सिवाकोटी र अस्मिता अधिकारीको स्वर रहेको छ । गीतको सङ्गीत तथा शब्द प्रशान्त सिवाकोटीले नै सिर्जना गरेका हुन् ।

भोजपुरमा छायाङ्कन गरिएको यस गीतको भिडियोमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुले नृत्य गरेका छन्। यी दुईको साथमा कलाकारहरू सुन्दर धिताल र सब्बु गुरुङले नृत्य प्रस्तुत गरेका छन् । गीतको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् । यो चलचित्र इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय दृश्यहरूमा छायाङ्कन गरिएको छ ।

निर्देशक अर्जुन सुवेदीका अनुसार यस चलचित्रले दर्शकलाई फरक स्वादको कथासँग जोड्नेछ । चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ भने दुई प्रमुख पात्रबीचको प्रेम कथा यसको मुख्य आकर्षण रहेको छ । प्रकाश सपुत र परीक्षा लिम्बुको जोडी पहिलो पटक यस चलचित्रमार्फत एकसाथ पर्दामा देखिँदैछ ।

चलचित्रमा प्रकाश र परीक्षाको साथमा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा लगायतका कलाकारहरूले अभिनय गरेका छन् । ‘सोल्टिनी’का गीतहरूमा सङ्गीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गरेका हुन् । प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् ।

प्रतिक्रिया दिनुहोस्