प्रकाश दुतराजको नयाँ गीत ‘मन भुल्छ’ सार्वजनिक


आफ्ना मौलिक सांगीतिक सिर्जनामार्फत स्रोता दर्शकको मन जितिरहेका प्रकाश दुतराजले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले मंगलबार राती ‘मन भुल्छ’ बोलको गीत सार्वजनिक गरेका हुन् । यो उनको ‘जाम भो माईली’पछिको अफिसियल गीत हो । जुन गीत उनले ७ महिनाको अन्तरमा स्रोता÷दर्शकमाझ ल्याएका हुन् । प्रकाश आफ्ना गीतका शब्दलहर आफै बुन्दै आएका छन्, आफै भाका हाल्दै आएका छन् । ‘मन भुल्छ’मा पनि उनकै शब्द र संगीत छ । कृष्ण बि.कले गीतको एरेन्ज गरेका छन् । गीतमा प्रकाशसँगै गायिका शान्तीश्री परियारले स्वर दिएकी छिन् । प्रकाश र शान्तीश्रीले स्वर दिएका ‘घर कता हो बैनीको’ र ‘जाम भो माईली’ गीत यसअघि करोड क्लबमा पुगिसकेका छन् । ‘मन भुल्छ’को भिडियोमा भने प्रकाशले नयाँ र रचनात्मक प्रयोग छन् । त्यो के भने यसमा आफ्ना यसअघि स्रोता दर्शकले रुचाएका सिर्जनाभित्रका पात्रहरुलाई एउटै भिडियोभित्र प्रस्तुत गरेका छन् । प्रकाशको ‘बैनी झ्यालैमा’ गीतलाई स्रोता दर्शकले रुचाए ।

त्यसपछि सार्वजनिक गीत ‘चोली मैलै भो’ले विस्तारै चर्चा पाउँदै गएर करोड क्लबको नजिक पुगेको छ । ‘घर कता हो बैनीको’ निकै लोकप्रिय भयो । अनि ‘जाम भो माइली’ले प्रकाशलाई करोड क्लबमा ‘ह्याट्रिक’ गराईदियो । हो, यीनै चारवटा ‘हिट’ सिर्जनाभित्रका पात्रहरुलाई ‘मन भुल्छ’मा एउटै भिडियोभित्र हेर्न सकिन्छ । भिडियोमा प्रकाश दुतराजसँगै सुजल बम, भूमिका गिरी, जुना सुन्दास, आयुष्मा कार्की, विजय पुन, रोशनी कार्कीलाई प्रस्तुत गरिएको छ । भिडियोमा उनले यसअघिका पात्रको पहिरन शैली, अभिनयलाई पनि उही रुपमा प्रस्तुत गर्ने प्रयास गरेका छन् । भिडियोमा उनी ‘क्रियटर’को भूमिकामा प्रस्तुत छन् र उनले अघिल्ला सिर्जनाका पात्रहरुलाई कल्पना गरेका छन् । यस्तै, यसअघिका चार गीतमा नरहेकी मोडल गीता ढुंगाना पनि भिडियोमा प्रस्तुत छिन् । ‘क्रियशनमा एक खालको पागलपन हुन्छ नी, भिडियोमा देखाइएका कुराहरु अलिक पागलपन पनि छ’ प्रकाशले भने, ‘हिजोका दिनदेखि स्रोता दर्शकहरुले दिनुभएको माया, उहाँहरुले रुचाईदिनुभएको गीतका पात्रहरुलाई एकै ठाँउमा राखेर भिडियो बनाएको छु ।’ प्रकाशले गीतभन्दा पहिले भिडियोको कन्सेप्ट तयार पार्दै आएका छन् । ‘मन भुल्छ’मा पनि उनले पहिले भिडियाको कन्सेन्ट सोँचेपछि गीत तयार पारेका हुन् । मौलिक मिठासले भरिपूर्ण सिर्जनाहरु ल्याउँदै आएका प्रकाशका सिर्जनाहरुलाई स्रोता दर्शकले रुचाउँदै आएका छन् । मौसम हिमालीको निर्देशन रहेको ‘मन भुल्छ’को भिडियोलाई अनिल के. मानन्धनले छायाँकन गरेका हुन् । नबिन घर्ती मगरको सम्पादन तथा कलरपछि भिडियो सार्वजनिक गरिएको हो । अघिल्ला सिर्जनाहरुलाई जस्तै यसलाई पनि स्रोता दर्शकले रुचाउने विश्वास प्रकाशले लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्