रिलिजको तयारीमा मोफसलका प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया बटुलेको ‘बाः एक योद्धा’
असोज ९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘बाः एक योद्धा’ ले प्रचारको नयाँ शैली अपनाएको छ । प्राय चलचित्रका प्रिमियर काठमाडौंमा हुने गर्दछन् अनि मोफसलमा दर्शक भेट्न जाने गर्दछन्। तर यो चलचित्रले भने पहिले मोफसलका विभिन्न स्थानमा प्रिमियर गरेर दर्शक भेटेको छ। नेपागञ्ज, दाङ, धरान र बुटवलका दर्शकमाझ चलचित्रको प्रिमियर गरिसकिएको छ । चारवटा मुख्य सहरका दर्शकमाझ प्रिमियर गरेपछि बल्ल काठमाडौंमा यो चलचित्र प्रिमियर असोज ६ गते हुने भएको छ।

मोफसलबाट उत्साहजनक प्रतिकृया पाएको निर्माणपक्ष अब काठमाडौंका दर्शकको प्रतिकृया लिने तयारीमा रहेको छ। “हामीले जसरी नेपागञ्ज, दाङ, धरान र बुटवलका दर्शकबाट सोचेभन्दा पनि राम्रो फिडब्याक पाएका छौँ, त्यस्तै प्रतिकृया काठमाडौंबाट पनि पाउने अपेक्षा गरेका छौँ,” निर्देशक हरि लम्साल भन्छन्, “हाम्रो चलचित्र जस्तो लागेको छ, त्यस्तै प्रतिकृया सामाजिक सञ्जालमा राखिदिन हुन आग्रह पनि गरेका छौँ ।”
प्रिमियरमा चलचित्र हेर्ने अधिकांशले तारिफ गरेको निर्माता वसन्त लम्सालले जानकारी दिए । “दिव्य देवको चलचित्र करियरकै ट्रनिङ पोइन्ट बा: एक योद्धा बन्छ भनेर भन्नु भएको छ,” निर्माता लम्सालले भने, “सुहाना थापाको अहिलेसम्मको फरक र राम्रो चलचित्र भन्नु भएको छ ।”
प्रिमियरमा चलचित्र हेरेर निस्किएकी एक युवतीले भनिन्, “अहिले मेरो बा हुनुहुन्न । तर, यो चलचित्रको बाले जस्तै हामीलाई स्ट्रगल गरेर हुर्काउनु भएको हो । उहाँको सेन्डो सधैँ च्यातिएको हुन्थ्यो । तर, मलाई र मेरो ममीलाई कहिल्यै पुरानो लुगा लगाउन दिनु भएन । यो चलचित्र हेरेर मैले मेरो बालाई मिस गरेँ ।”
त्यस्तै चलचित्र हेरेर हेरेर निस्किएका एक युवकले भने, “बुवाले गरेको संघर्ष नबुझेका सन्तानले एक पटक यो मुभी त हेर्नैपर्छै, देखाउनै पर्छ ।”
“बुबाआमालाई सन्तानले कहिल्यै घात गर्नु हुँदैन भन्ने सन्देश चलचित्रमा छ । बुवाले जसरी चलचित्रको सुरुदेखि अन्तिमसम्म दर्दनाक दुःख गर्छ, त्यो कथाले मेरो मन छोयो,” चलचित्र हेरिसकेकपछि एक महिलाले प्रतिक्रिया दिइन् ।
असोज ९ गते रिलिज हुने ‘बाः एक योद्धा’ नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूको कथा हो ।
यो चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।
चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन् ।






