टिजरमा यस्तो बन्यो ‘जलाकी’ को पहिलो झलक
अशोक थापामगरको निर्देशनमा तयार भएको चलचित्र ‘जलाकी’को ‘पहिलो झलक’ सार्वजनिक भएको छ। निर्माण टिमले टिजरको रुपमा पहिलो झलक सार्वजनिक गरेको हो। पहिलो झलकमा मुख्य कलाकार उपासना सिंह ठकुरी, सोनम तोप्देन, अस्तित्व भट्टचन र साहारा हाङमा लिम्बू लगायतलाई प्रस्तुत गरिएको छ।

भिडियोमा उपासना शिक्षिकाको भूमिकामा देखिएकी छन् । साथै उनको बाल्यकाल, कलेज यात्राको क्रममा सोनमसँगको प्रेमसम्बन्ध र आमाको सम्झनालाई प्रस्तुत गरिएको छ । चलचित्रको यसअघि सार्वजनिक ‘चाँदी जलप’ गीत र पोस्टरले दर्शकमाझ राम्रो हाइप निर्माण गर्न सफल भएका थिए । ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो । निर्देशक मगरले यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावना समेटिएको कथा चलचित्रमा प्रस्तुत गरिएको बताए । चलचित्र आगामी मंसिर ४ गतेबाट प्रदर्शन हुँदैछ ।
चलचित्रमा सोनम तोप्देन र उपासना सिंह ठकुरी, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् । यस चलचित्रबाट मिस सिक्किमकी साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।






