बक्स अफिसमा ‘लालीबजारको’ व्यापार ५ करोड पार
नेपाली चलचित्र क्षेत्रमा षट्कोण आर्ट्स स्थापित व्यानार बनिसकेको छ। ‘जात्रा’ सिरिज, ‘महापुरुष’ जस्ता सफल चलचित्र निर्माण गरिसकेको यो टीमले निर्माण गरेको नयाँ चलचित्र ‘लालीबजार’ यतिबेला प्रदर्शनरत रहेको छ। तर रिलिजको समय नजिकिदै गर्दा यो चलचित्रले ठुलै झमेला बेहोर्नु पर्यो। अदालतको मुद्धा देखि ‘खराने ग्याङ’ को चलचित्र बहिष्कार भन्दै चलेको सामाजिक संजालको अभियानले चलचित्रको टिमलाई ठुलै तनावमा पार्यो। तर दर्शकले चलचित्रलाई साथ दिएपछि अरुसवै कुरा फिक्का देखिए। बैशाख १८ लाई रिलिज मिति तय गरेको चलचित्र बैशाख २५ बाट रिलिज भयो। रिलिजको सुरुवाती दिनबाट चलचित्रले दर्शकको राम्रो साथ पायो।

दोस्रो सातासम्म बक्स अफिसमा आफुलाई बलियो बनाएको चलचित्रले १४ दिनमा ५ करोडको आँकडा पार गरेको छ । चलचित्र जेठ ७ गते साँझ ११ः५९ बजेसम्म ५ करोड २५ लाख रुपैयाँ ग्रस कमाएको निर्माण कम्पनी षट्कोण आर्ट्सले जनाएको छ । यहि गतिमा चलचित्र चल्ने हो भने ७ करोड माथीको आंकडा चलचित्रले पार गर्ने अनुमान गरिएको छ। यो चलचित्रको व्यावसायिक सफलताले अभिनेत्री स्वस्तिमा खड्कालाई ठुलो राहात मिलेको छ। चर्चित व्यानार र दर्शकको विस्वास बोकेका मेकर भए पनि चलचित्रको फेस भ्यालु स्वस्तिमालाई नै लिईएको थियो । सोहि कारण पनि यसले उनको स्टारडम थप बढाएको निश्चित छ।
यम थापाको निर्देशनमा बनेको चलचित्रमा स्वस्तिमासहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, विशाल देवकोटा, प्रशंसा सुवेदी, अभय बराल, आशा पौडेल, लगायतको अभिनय रहेको छ। म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता प्रदीप भट्टराई हुन्।




